तिहारमा प्लास्टिकका मालाको सट्टा स्थानीय फूलका माला प्रयोग गर्न भेरीगंगाको अपिल

सोमबार, कात्तिक १६, २०८३

सुर्खेत । तिहार पर्वलाई लक्षित गर्दै सुर्खेतको भेरीगंगा नगरपालिकाले स्थानीयस्तरमा उत्पादित फूलका माला प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाले आज एक सार्वजनिक अपिल जारी गर्दै प्लास्टिकजन्य मालाको सट्टा स्थानीय किसानले उत्पादन गरेका फूलबाट तयार गरिएका माला प्रयोग गर्न अनुरोध गरेको हो ।

नगरप्रमुख यज्ञप्रसाद ढकालद्वारा जारी अपिलमा तिहारका अवसरमा स्थानीय पुष्पखेतीको प्रवर्द्धन र किसानको उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्राकृतिक फूलका माला प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको छ ।

नगरपालिकाले नगर क्षेत्रका फूलमाला व्यापारी तथा व्यवसायीलाई समेत प्लास्टिकजन्य मालाको सट्टा स्थानीयस्तरमा उत्पादन भएका फूलको व्यापार तथा बजारीकरण गर्न अनुरोध गरेको छ । स्थानीय उत्पादनको प्रयोगले पुष्पखेतीमा संलग्न किसानलाई प्रोत्साहन मिल्नुका साथै स्थानीय व्यवसाय प्रवर्द्धनमा समेत सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ ।

नगरपालिकाले तिहारलाई वातावरणमैत्री बनाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिन सबै नगरवासीलाई अपिल गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १४:०३
प्रतिक्रिया दिनुहोस्