एनपीएलमा लुम्बिनी लायन्सको विजयी सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित

सोमबार, कात्तिक ९, २०८३

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जितका साथ यात्रा सुरु गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको हो।

सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो। लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४ चौका र ३ छक्कासहित ४० रन बनाए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए।

आसिफले ३२ रनको योगदान दिए। निरोशन डिक्वेला ७ रनमा आउट भए भने शमिम हुसेन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे। सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम लुम्बिनीको बलिङसामु निरीह देखियो। टोली १७ ओभर २ बलमा ८७ रनमै समेटिएको थियो।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। अनिल खरेल १७ रनमा नटआउट रहे भने सैफ जैबले १३ र विनोदले ९ रन जोडे। इशान पाण्डेले ७ तथा ब्रान्डन म्याकमुलेनले २ रन बनाए। शेर्फन रदरफोर्ड १ रनमा आउट हुँदा स्कट कुगेलाइन र हेमन्त धामीले खाता खोल्न सकेनन्।

लुम्बिनीका किशोर महतोले ४ विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ धराशायी बनाउन महत्त्वपूर्ण भूमिका खेले। शेर मल्लले ३ विकेट लिए भने कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले समान १ विकेट हात पारे।

खेलका क्रममा नेपालमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिएको थियो। दोस्रो ओभरको अन्तिम बलमा शेर मल्लले एलबीडब्लुको अपिल गरे पनि अम्पायरले आउट दिएनन्। त्यसपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएस लिएका थिए। तर, उक्त रिभ्यु लुम्बिनीको पक्षमा आएन।

एनपीएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो १२ः३० बजे विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ। दोस्रो खेल साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  २०:५३
प्रतिक्रिया दिनुहोस्