सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे शुरू हुनेछ ।
नेपाल र क्यानाडा दुवैका लागि यो खेल अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हो । क्यानाडा शीर्ष छमा पर्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा छ । नेपाललाई पनि सोही दबाब छ ।
दुईमध्ये एक टिमले मात्र शीर्ष ६ मा परेर एक दिवसीय मान्यता जोगाउन सक्छन् । नेपाल लगातार तेस्रो जित निकालेर शीर्ष छ मा स्थान सुरक्षित गर्ने योजनामा छ । नेपालले जित निकालेमा एक खेल बाँकी छँदै शीर्ष छमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
तालिकामा नेपाल क्यानाडाभन्दा एक अङ्कले अगाडि छ । नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई बराबरीको नतिजासहित २८ अङ्क जोडेको छ । सातौँ स्थानमा रहेको क्यानाडाले ३५ खेलमा ११ जित, १९ हार र पाँच खेलमा अङ्क बाँड्दै २७ अङ्क हासिल गरेको छ ।
यस श्रृङ्खलामा नेपालले शुरूआती दुवै खेल जितेको छ । पहिलो खेलमा क्यानाडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानमाथि ११३ रनको फराकिलो जित निकालेको थियो । यही लय कायम राख्दै क्यानाडाविरुद्ध अर्को जित हात पार्ने नेपालको योजना छ ।
यता क्यानाडा भने पहिलो खेलको हारको बदला लिँदै शीर्ष छमा पर्ने सम्भावना जीवित राख्न चाहन्छ । उसले पछिल्लो खेलमा ओमानलाई ५८ रनले हराउँदै आफ्नो क्षमता देखाइसकेको छ । उक्त खेलमा पहिले ब्याटिङ गरेको क्यानाडाले २५६ रन बनाएको थियो । त्यसैले शनिबारको प्रतिस्पर्धामा नेपालले क्यानाडाको ब्याटिङलाई रोक्नुका साथै आफ्नो ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ ।
नेपालले जारी शृङ्खलाका दुवै खेलमा पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । क्यानाडाविरुद्ध २३५ रन बनाएको नेपालले ओमानसँगको खेलमा २६३ रन जोडेको थियो । अहिलेसम्म शृङ्खलामा पहिले ब्याटिङ गर्ने टोलीले जित निकालेकाले टस र शुरूआती ब्याटिङले पनि खेलको नतिजामा प्रभाव पार्न सक्छ ।