Dashain Banner
Dashain Banner

बाँकेको इलाका प्रहरी कार्यालय धनौलीले जित्यो देशकै उत्कृष्टताको उपाधि

शुक्रबार, असोज ३०, २०८३

बाँके । नेपाल प्रहरीको कार्यदक्षता मूल्याङ्कन (पुलिस ब्याटन), २०८३ मा बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौली देशभरमै प्रथम हुँदै सर्वोत्कृष्ट कार्यालय घोषित भएको छ। कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईं सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालय प्रमुखका रूपमा सम्मानित भएका छन्।

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा  आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी निरीक्षक चापागाईंलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन ।

देशभर प्रहरी निरीक्षक तथा प्रहरी नायब उपरीक्षक कार्यालय  प्रमुख रहेका इलाका प्रहरी कार्यालय, प्रहरी वृत्त, वडा प्रहरी कार्यालय र प्रहरी प्रभागहरूमध्येबाट गरिएको मूल्याङ्कनमा इलाका प्रहरी कार्यालय धनौली सर्वोत्कृष्ट भएको हो।

कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर प्रहरी निरीक्षक चापागाईंले प्रदर्शन गरेको पेशागत व्यावसायिकता, निष्ठा, मातहतका प्रहरी कर्मचारी तथा कार्यालयको परिचालन र कार्यकुशलतालगायत समग्र कार्यसम्पादनको मूल्याङ्कनका आधारमा उनलाई सर्वोत्कृष्ट कार्यालय प्रमुखका रूपमा छनोट गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनमा प्रथम स्थान हासिल गर्दै धनौलीले ‘पुलिस ब्याटन’ प्राप्त गर्नु बाँके जिल्लाकै लागि गौरवको विषय बनेको छ। यस उपलब्धिले प्रहरी सेवाको प्रभावकारिता, अनुशासन, जिम्मेवारीबोध र कार्यसम्पादनमा उत्कृष्टताको महत्त्वलाई समेत उजागर गरेको छ।

देशभरका विभिन्न प्रहरी कार्यालयबीचको प्रतिस्पर्धामा उत्कृष्ट ठहरिँदै कार्यालय र कार्यालय प्रमुख दुवै पुरस्कृत हुनुले इलाका प्रहरी कार्यालय धनौलीको कार्यसम्पादनलाई राष्ट्रिय स्तरमा स्थापित गरेको छ।

यसैगरी बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीलाई पूर्णशान्ति पुरस्कार प्रदान गरिएको छ। गृहमन्त्री सुधन गुरुङले आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नगद र प्रशंसापत्रबाट पुरस्कृत गरेका हुन ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १६:००
प्रतिक्रिया दिनुहोस्