सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज। दिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा आइतवार साँझ वार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान कार्यक्रम गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्ने व्यक्तित्वहरुले स्वस्थ समाजका लागि स्वास्थ्य पत्रकारिता अपरिहार्य रहेकोमा जोड दिएका थिए। त्यसका निमित्त स्वास्थ्यपेज डटकमले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अझ यसलाई व्यवसायिक बनाएर लैजान सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले स्वास्थ्य क्षेत्रको विकासका लागि स्वस्थ पत्रकारिता अपरिहार्य रहेको बताइन् । उनले जिम्मेवार र मर्यादित पत्रकारिताले मात्रै स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । पत्रकारिताका क्षेत्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्यपेजले अहम् भूमिका निर्वाह गरेको उनको भनाइ छ । लुम्विनी प्रदेश सरकारले आमनागरिकको गुणस्तरीय स्वास्थ्य प्राप्तिका सवालमा प्राथमिकतामा राखेर काम गर्दै आएको सचिव श्रेष्ठको भनाइ छ।
नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले मोफसलको बीट पत्रकारिताका क्षेत्रमा स्वास्थ्यपेजले छुट्टै पहिचान कायम गर्न सफल भएको बताए । उनले व्यवसायिक पत्रकारिताका माध्यमबाट स्वास्थ्य क्षेत्रको सम्भावना, समस्याको पहिचान र समाधानको उपायको खोजीका निमित्त विश्वसनीय सामग्री उत्पादन गरेकै कारण छोटो समयमै स्वास्थ्यपेज स्थापित भएको उल्लेख गरे ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त पूर्व सचिव एवम् अग्रज चिकित्सक डा.श्यामसुन्दर यादवले स्वास्थ्यपेजले विश्वसनीय पत्रकारिकता गरेकै कारण स्वास्थ्यक्षेत्रमा विश्वास स्थापित भएको बताए । यस्तै भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले स्वास्थ्य पत्रकारिता स्वास्थ्य क्षेत्रका लागि अपहरिहार्य रहेको बताए । स्वास्थ्यपेजले स्वास्थ्यक्षेत्रका विभिन्न आयामबारे आमनागरिकलाई सुसूचित गर्नेमात्र नभएर नीतिनिर्माण तहमा समेत खवरदारी गर्दै आएको उल्लेख गरे । यस्तै नेपाल चिकित्सक संघ भेरीका निवर्तमान अध्यक्ष डा विनोद थापाले स्वास्थ्य क्षेत्रको विकासका लागि प्रणालीमै सुधार गर्नुपर्ने आवश्यकता औल्याए । उनले नीजि अस्पतालहरुलाई हेर्ने राज्यको दृष्टिकोण सकारात्मक हुनुपर्नेमा जोड दिए ।
प्रालिका अध्यक्ष प्रियास्मृति ढकालले स्वास्थ्यपेजले सकारात्मक पत्रकारितालाई प्रवर्धन गर्दै आएको बताए । उनले स्वास्थ्यकर्मी र नागरिकलाई जोड्ने पुलको काम स्वास्थ्यपेजले स्वास्थ्य पत्रकारितामार्फत गर्दै आएको उल्लेख गरे । उनले भने -'स्वास्थ्यक्षेत्रले स्वास्थ्यपेज डटकमलाई गरेको विश्वासका कारण सातौं वार्षिकोत्सव मनाउने अवसर बनेको छ । सकारात्मक र विश्वसनीय पत्रकारितामा हामी प्रतिवद्ध छौं।' उनले आगामी दिनमा पत्रकारिताका माध्यमबाट स्वास्थ्य क्षेत्रको प्रणाली कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा आफ्ना कन्टेन्टहरु केन्द्रीत गर्न चाहेको पनि बताए ।
वार्षिकोत्सव कार्यक्रममा नेपालगन्ज मेडिकल कलेजका संस्थापक तथा वरिष्ठ चिकित्सक एम किदवाई, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका निर्देशक डा.निरज भट्टराई, बर्दिया अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.सुभाष पाण्डे, नर्सिङ संघ बाँकेका अध्यक्ष शिला शर्मा, एचसीआरसी अस्पतालका अध्यक्ष डा. कुमार सान शाह, एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन लुम्विनी प्रदेशका उपाध्यक्ष चन्द्र महतो,औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष जयदेव अवस्थी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वार्षिकोत्सवमा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ लगायतले स्वास्थ्यपेज विशेषांकको विमोचन समेत थिए । यस्तै यो वर्ष अग्रज चिकित्सक सम्मानबाट वरिष्ठ चिकित्सक डा.एम किदवाईलाई सम्मानित गरिएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ प्राप्त गर्न सफल भएकोमा एचसीआरसी अस्पताल नेपालगन्जलाई पनि सम्मानित गरिएको थियो ।
स्वास्थ्यपेज डटकमका प्रधान सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन भने शोभा केसीले गरेकी थिइन् । कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देल लगायत यस क्षेत्रका अग्रज चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।