सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बन्न आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।
लगातार दोस्रो संस्करण फाइनलमा आमनेसामने हुन लागेका यी दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको विषयसमेत बनेको छ। अघिल्लो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको लुम्बिनी यसपटक पनि आफ्नो वर्चस्व कायम राख्ने दाउमा छ। उता सुदूरपश्चिम भने विगतका दुई फाइनलको हार बिर्साउँदै पहिलोपटक उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।
यस संस्करणको लिग चरणमा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै ११ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो। पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले फाइनल यात्रा तय गरेको हो। लिग चरणको भेटमा समेत लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो।
पहिलो क्वालिफायरमा पराजित भएपछि दोस्रो अवसर पाएको सुदूरपश्चिमले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो। १० अंकसहित लिग चरणमा दोस्रो भएको सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा पुगेको छ।
यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिम यसपटक भने फाइनलको हारको शृङ्खला अन्त्य गर्दै इतिहास रच्ने प्रयासमा हुनेछ।
लुम्बिनीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्। दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव बटुलेका खेलाडी रहेकाले आजको फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।