सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स लगातार दोस्रो पटक एनपीएल फाइनलमा

मंगलबार, मंसिर १, २०८३

काठमाडौँ । लुम्बिनी लायन्स लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनलमा पुगेको छ । साविक विजेता लुम्बिनी तेस्रो संस्करणमा पनि फाइनलमा पुगेको हो । 

मंगलबार भएको पहिलो क्वालिफायर खेलमा यसअघिका संस्करणमा लगातार दोस्रो पटक उपविजेता भएको सुदूरपश्चिम रोयल्सलाई सजिलै ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो । 

खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्दै सुदूरपश्चिमलाई १०५ रनमै रोक्यो । सुदूरले ८ विकेटको क्षतिमा १०५ रन बनायो। कप्तान दिपेन्द्र सिंह ऐरीले ५१ बलमा ५२ रन बनाए । 

इशान पाण्डेले २७ रन जोडे । त्यसबाहेक कसैले पनि दोहोरो स्कोर खडा गरेनन् । स्कटल्याण्डबाट आएर पहिलो खेल खेलेका जर्ज मुन्सी डक आउट भए । 

रुबेन ट्रम्पेल्मेन र शेर मल्लले समान २ विकेट लिए ।  

जवाफमा सामान्य चुनौती लुम्बिनीले १६ ओभर ४ बलमै ४ विकेटको क्षतिमा पूरा गर्यो । खेलमा दुई क्याच र दुई रनआउट गर्न मद्धत गरेका विकेटकिपर निरोशन डिकवेलाले ३७ बलमा अविजित रहँदै ५९ रन बनाए । 

त्यस्तै कप्तान रोहित पौडेलले २८ बलमा २१ रन बनाए । दिलिप नाथले १२ बलमा अविजित रहँदै १० रन बनाए । सुदूरका थरिन्दु रत्नायकेले २ विकेट लिए । 

विजयी लुम्बिनीले लगातार दोस्रो उपाधिका लागि शनिबार दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  २१:११
प्रतिक्रिया दिनुहोस्