जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा कायमै

बिहीबार, कात्तिक १९, २०८३

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा जारी राखेको छ। बिहीबार भएको खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनीले प्रतियोगितामा तेस्रो जित निकालेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो।

जनकपुरका लागि कप्तान हर्मीत सिंहले सर्वाधिक ३३ रन बनाए। आठौं नम्बरमा ब्याटिङ गर्न आएका उनले २० बलमा ३ छक्का प्रहार गरे। आदित्य महताले २३ बलमा ४ चौकासहित अविजित ३० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

एक समय ६५ रनमै ५ विकेट गुमाएर संकटमा परेको जनकपुरलाई हर्मीत र आदित्यले सम्हाल्ने प्रयास गरेका थिए। यी दुईले आठौं विकेटका लागि ४३ रनको साझेदारी गरे। तर १८औं ओभरको चौथो बलमा हर्मीत आउट भएपछि जनकपुरको जित्ने सम्भावना कमजोर बन्यो।

बंगलादेशी खेलाडी सेफ हसनले २५ बलमा ४ चौकासहित २८ रन बनाए। ओपनर तृतराज दासले १८ बलमा १८ रन जोडे। परभेज हुसेन इमोन १, विशाल सुशीलिङ ४, अनिल शाह १ र जिमी निशम ९ रनमा आउट भए। अभिषेक तिवारीले भने रन बनाउन सकेनन्।

लुम्बिनीका लागि डार्शी सर्टले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। तिलक भण्डारीले २ तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ३१ बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाए।
निरोशन डिकवेलाले २७ बलमा २७ रन जोड्दा आसिफ शेख र दिलिप नाथले समान २१ रन बनाए। शामिन हुसेनले १३ तथा रुबेन ट्रम्पलम्यानले ८ बलमा २ छक्कासहित १५ रनको योगदान दिए। सन्दीप जोराले ९ रन बनाए। ओपनर डार्शी सर्ट भने पहिलो बलमै आउट भएका थिए।

जनकपुरका लागि बलिङमा विशाल सुशीलिङ र राहुल यादवले समान २ विकेट लिए। विशालले ४ ओभरमा २१ तथा राहुलले २ ओभरमा १७ रन खर्चिए। कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १–१ विकेट लिए।

यस सिजन तीन खेलमा जित निकालेको लुम्बिनीको चितवन राइनोजसँगको एक खेल वर्षाका कारण रद्द भएको थियो। जनकपुरलाई हराएसँगै चार खेलबाट ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा यथावत् छ।

पाँच खेल खेलेको जनकपुरको भने यो तेस्रो हार हो। प्लेअफको सम्भावना कायम राख्न जनकपुरले अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब बनेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १६:१०
प्रतिक्रिया दिनुहोस्