सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो दोस्रो जित निकालेको हो। पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रनमा समेटियो। पोखराका कप्तान कुशल भुर्तेलले २४ बलमा ५ चौकासहित सर्वाधिक ३५ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
पोखराका लागि विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ तथा किरण ठगुन्नाले १५ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
जनकपुरको जितमा स्पिनर मोइन अलीले प्रभावशाली बलिङ गर्दै ३ विकेट लिए। कप्तान हर्मीत सिंह र सैफ हसनले समान २ विकेट हात पार्दा जिम्मी निशम र ललित राजवंशीले एक–एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो।
जनकपुरका लागि त्रितराज दासले अर्धशतकीय पारी खेल्दै ५५ बलमा ६१ रन बनाए। उनको इनिङ्समा ७ चौका र एक छक्का समावेश थियो। दासले पहिलो विकेटका लागि मोइन अलीसँग ४७ रनको साझेदारी गरेका थिए। मोइनले १६ बलमा २१ रन जोडे।
त्यस्तै अभिषेक तिवारीले आक्रामक ब्याटिङ गर्दै १० बलमा अविजित २४ रन बनाए। अन्य ब्याटरले भने ठूलो स्कोर बनाउन सकेनन्।
पोखराका लागि शाकिब अल हसनले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। चमिका करुणारत्नेले २ तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले समान एक विकेट लिए।
यस जितसँगै जनकपुरले प्रतियोगितामा आफ्नो जितको संख्या दुई पुर्याएको छ भने पोखरा लगातार दोस्रो हारपछि दबाबमा परेको छ।