बिओपी कटकुइँया र एसएसबीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, सशस्त्र प्रहरी विजयी

शनिबार, कात्तिक १४, २०८३

बाँके । सीमा सुरक्षामा खटिएका नेपाल र भारतका सुरक्षाकर्मीबीच आपसी सम्बन्ध र समन्वय सुदृढ गर्ने उद्देश्यले मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको छ।

नरैनापुरस्थित सशस्त्र प्रहरी बल नेपाल, बिओपी कटकुइँया र भारतको सशस्त्र सीमा बल (एसएसबी) को ६२औँ बटालियनको सुयाँ ताल बघौडास्थित डी कम्पनीबीच बिओपी कटकुइँयामा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपालले ३–१ सेटको अन्तरले एसएसबीलाई पराजित गर्दै विजयी भएको छ।

सीमावर्ती क्षेत्रमा खटिएका दुवै देशका सुरक्षाकर्मीबीच आपसी सद्भाव, विश्वास र भाइचारा अभिवृद्धि गर्नुका साथै सीमा सुरक्षा तथा अपराध नियन्त्रणमा आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले शुक्रबार प्रतियोगिता आयोजना गरिएको बिओपी कटकुइँयाले जनाएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  २०:२८
प्रतिक्रिया दिनुहोस्