सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो

बुधबार, कात्तिक ११, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको चौथो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई सहजै ६ विकेटले हराएको हो । 

कीर्तपुर मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्दै पोखरालाई १४५ रनमा रोक्यो। पोखराले ७ विकेटको क्षतिमा सो योगफल जोडेको हो । 

पोखराका लागि अर्जुन घर्तीले २५ बलमा अविजित रहँदै ४० रन जोडे । महेदी हसनले २१ बलमा३२ रन बनाए । अनिल खरेलले ३ विकेट लिए । 

जवाफमा सुदूरले १६।५ ओभरमै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । सुदूरका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ३६ बलमा अविजित रहँदै ५१ रन बनाए । इशान पाण्डेले ३१ बलमा ३७ रन बनाए । 

पोखराले पहिलो खेलमै हार बेहोरेको हो । सुदूरले दोस्रो खेलमा पहिलो जित हासिल गरेको हो । सुदूरले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो । 

तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित निकाल्यो । १३३ रनको चुनौती पछ्याएको जनकपुरले ३ बल खेल्न बाँकी छँदै अलआउट भएर ११३ रनमात्र बनाउन सक्यो । जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाउन सके । कसिलो बलिङ गर्ने क्रममा युनिश ठकुरी र हुसेन तलातले समान ३ तथा नन्दन यादवले २ विकेट लिए । 

दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि ८ रनको सनसनीपूर्ण जित हासिल गर्यो । १५८ रनको चुनौती पछ्याउने क्रममा विराटनगरले १४९ रनमात्र बनाउन सक्यो । कमल ऐरीले २६ रन खर्चेर ४ विकेट लिए । 

पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो 

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  २२:३३
प्रतिक्रिया दिनुहोस्