एनपीएल -३: दोस्रो खेलमा चितवन राइनोज विजयी, विराटनगर किंग्स ८ रनले पराजित

मंगलबार, कात्तिक १०, २०८३

काठमाडौं । डेविड मलानको अर्धशतकीय इनिङ्स र कमल ऐरीको उत्कृष्ट बलिङको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा विजयी सुरुवात गरेको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। एक समय जितको नजिक देखिएको विराटनगरले अन्तिम चरणमा लगातार विकेट गुमाउँदा नतिजा चितवनको पक्षमा गएको हो।

विराटनगरलाई अन्तिम पाँच ओभरमा जितका लागि ५४ रन आवश्यक थियो। आन्द्रे रसेल क्रिजमा रहेकाले टोलीको जित्ने सम्भावना बलियो देखिएको थियो। तर, रसेल १६औं ओभरको पाँचौं बलमा आउट भएपछि विराटनगर दबाबमा परेको थियो।

रसेलले १७ बलमा चार छक्का र एक चौकासहित ३३ रन बनाए। उनलाई कमल ऐरीले देव खनालको हातबाट क्याचआउट गराए। त्यसपछि विराटनगरका ब्याटरहरू लामो समय क्रिजमा टिक्न नसक्दा टोलीले हार बेहोर्नुपर्‍यो।

लक्ष्य पछ्याउने क्रममा विराटनगरका ओपनर लोकेश बम र इमरान शेखले आक्रामक सुरुवात गरेका थिए। दुवैले पहिलो विकेटका लागि ४० रन जोडे। लोकेशले १४ बलमा चार चौका र एक छक्कासहित २६ रन बनाए।

लोकेश आउट भएपछि इमरानले चरिथ असलंकासँग साझेदारी अघि बढाए। असलंका नौ बलमा आठ रन बनाएर पभेलियन फर्किए। इमरानले भने ३१ बलमा चार चौका र दुई छक्काको मद्दतले ३९ रन बनाए। उनी १०.५ ओभरमा टोलीको स्कोर ८७ रन हुँदा आउट भए।

त्यसको केही समयपछि बासिर अहमद पनि आउट भए। उनले १३ बलमा १३ रन बनाए। त्यसपछि एन्जेलो म्याथ्युज र रसेलले पाँचौं विकेटका लागि ४३ रन जोड्दै विराटनगरलाई पुनः खेलमा फर्काउने प्रयास गरे। म्याथ्युजले १६ बलमा १४ रन बनाए।

२३ बलमा गुमायो विराटनगरले पाँच विकेट
रसेल आउट भएपछि विराटनगरको ब्याटिङ क्रम सम्हालिन सकेन। १५.५ ओभरमा १३२ रन बनाउँदा रसेलको विकेट गुमाएको विराटनगरले त्यसपछिका २३ बलमा १७ रन जोड्दै बाँकी पाँच विकेट गुमायो।

१७.५ ओभरमा म्याथ्युज आउट भए भने त्यसको अर्को बलमा रुपेश सिंह खाता नखोली पभेलियन फर्किए। प्रतिश जिसी १८.२ ओभरमा र कप्तान सन्दीप लामिछाने १८.४ ओभरमा आउट भएपछि विराटनगर १४२ रनमा नौ विकेट गुमाउने अवस्थामा पुग्यो।

१९औं ओभरमा नरेन साउदको क्याच छुट्दा विराटनगरले केही राहत पाएको थियो। रिजन ढकालको बलमा देव खनालले क्याच लिन नसकेपछि नरेनले अन्तिम ओभरसम्म खेल लम्ब्याए।

अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १४ रन आवश्यक थियो। टम टेलरको पहिलो बलमा शुभम रन्जनेले चौका प्रहार गर्दै आशा जगाए। तर तेस्रो बलमा उनी बोल्ड भएपछि विराटनगरको जित्ने सम्भावना समाप्त भयो। रन्जनेले ११ बलमा १० रन बनाए। उनको विकेटसँगै विराटनगरको इनिङ्स १४९ रनमा टुंगियो।

चितवनको जितमा कमल ऐरीले निर्णायक भूमिका निर्वाह गरे। उनले चार ओभरमा २६ रन खर्चिएर चार विकेट लिए। ऐरीले बासिर अहमद, एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र रुपेश सिंहलाई आउट गरे।

रिजन ढकालले तीन ओभरमा २५ रन दिएर दुई विकेट लिए। उनले प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेलाई आउट गर्दै विराटनगरलाई थप दबाबमा पारे। टम टेलरले २.३ ओभरमा २३ रन खर्चेर एक विकेट लिए। रन्जित कुमार, ड्यान माउस्ली र मौसम ढकालले पनि एक–एक विकेट हात पारे। रन्जित कुमारले चार ओभरमा १५ रन मात्रै खर्चिएर किफायती बलिङ गरे।

यसअघि टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो।

चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलको सामना गर्दै पाँच चौका र पाँच छक्का प्रहार गरे। मलानले देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। देव १५ बलमा १२ रन बनाएर आउट भए।

विकेटकिपर ब्याटर अर्जुन साउदले नौ बलमा तीन रन मात्रै बनाउन सके। उनी एन्जेलो म्याथ्युजको बलमा कप्तान सन्दीप लामिछानेबाट क्याचआउट भए।

त्यसपछि मलान र कप्तान रवि बोपाराले इनिङ्स अघि बढाए। तर, १२.२ ओभरमा ९० रन हुँदा मलान आन्द्रे रसेलको बलमा बोल्ड भए।

मलान आउट भएपछि रवि बोपारा र ड्यान माउस्लीले जिम्मेवारी सम्हाल्दै चितवनलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्‍याए। दुवैले चौथो विकेटका लागि अविजित ६७ रनको साझेदारी गरे। बोपाराले २६ बलमा ३२ रन बनाए भने माउस्लीले २२ बलमा २९ रन जोडे।

विराटनगरका लागि आन्द्रे रसेलले चार ओभरमा ३९ रन खर्चेर एक विकेट लिए। चरिथ असलंकाले तीन ओभरमा १८ रन दिँदै एक विकेट लिए भने एन्जेलो म्याथ्युजले तीन ओभरमा १५ रन खर्चेर एक विकेट हात पारे।

यस जितसँगै चितवन राइनोजले एनपिएल सिजन–३ को पहिलो खेलबाटै आफ्नो अभियान सुखद बनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १६:४६
प्रतिक्रिया दिनुहोस्