सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।
प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ का अन्तिम चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्लेअफबाट उत्कृष्ट चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।
प्लेअफमा सहभागी हुने आठमध्ये हालसम्म छ टोलीको टुङ्गो लागिसकेको छ। लिग–२ बाट नेपाल, क्यानडा र यूएईको सहभागिता निश्चित भएको छ। त्यस्तै, च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डाले प्लेअफमा स्थान सुरक्षित गरेका छन्।
च्यालेन्ज लिग ‘ए’ बाट जर्सी छनोट भइसकेको छ भने कुवेतको सहभागिता पनि लगभग निश्चित छ। यद्यपि, प्रतियोगिताका केही खेल बाँकी रहेकाले कुवेतको स्थानबारे औपचारिक निर्णय हुन बाँकी छ। लिग–२ बाट आउने अर्को टोलीको पनि टुङ्गो लाग्न बाँकी छ। ओमान र नामिबियामध्ये एक टोलीले प्लेअफमा स्थान बनाउनेछ। बाँकी टोलीको टुङ्गो लागेसँगै प्रतियोगितामा सहभागी हुने आठै टोली निश्चित हुनेछन्।
यसैबीच, विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि प्रभावित हुने भएको छ। यसअघि उक्त शृङ्खला डिसेम्बर ९, ११ र १३ मा सञ्चालन गर्ने तय गरिएको थियो। क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआई) सँगको आपसी समन्वय र सहमतिमा शृङ्खलाको नयाँ मिति तय गरिनेछ। संशोधित तालिका पछि सार्वजनिक गरिने क्यानले जनाएको छ।