एसियन गेम्स: अफगानिस्तान नेपालसँग ५ विकेटले पराजित

शुक्रबार, असोज ९, २०८३

काठमाडौँ । जापानमा जारी २० औं  आइची-नागोया एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले शानदार शुरूआत गरेको छ। नेपालले पहिलो खेलमा अफगानिस्तानमाथि शानदार सफलता हासिल गरेको हो । 

निस्शिनको मैदानमा भएको खेलमा नेपाल ५ विकेटले विजयी भयो । १०३ रनको चुनौती नेपालले १७ ओभर २ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो । सन्दीप जोराले ३५ बलमा ३४ रन बनाए भने रोहित पौडेलले ३२ बलमा अविजित रहँदै ३३ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

कुशल भुर्तेललाई दोस्रो बलमै गुमाएको नेपालका लागि कुशल मल्लले रनआउट हुनुअघि ९ तथा आरिफ शेखले २ रन बनाए । 

यसअघि नेपालले अफगानिस्तानलाई १०२ रनमा रोकेको थियो । अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १०२ रन बनायो ।

कमजोर ब्याटिङ गरेको अफगानिस्तानका लागि फैजल खान र नजबुल्लाह जद्रानले समान ३० रन बनाए । कसिलो बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले २१ रन खर्चेर ४ तथा ललित राजवंशीले १३ रन खर्चेर ३ विकेट लिए । 

दिपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिएको नेपालले कसिलो बलिङसँगै संयमित ब्याटिङ गरेको हो । 

नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा अफगानिस्तान र आयोजक जापान रहेका छन् । पहिलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले हराएको थियो । 

नेपालले समूहको दोस्रो खेलमा जापानसँग शनिबार खेल्नेछ ।

नेपालले अफगानिस्तानलाई १२ वर्षपछि पराजित गरेको हो।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १४:१७
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह