सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेको नरैनापुर गाउँपालिका–४ नरैनापुरमा अवस्थित सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्म नरैनापुरले सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण तथा स्थानीय नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ।
डीएसपी लाल सिंह बिष्टको कमान्डमा रहेको उक्त गुल्मले सीमा अपराध नियन्त्रण, आन्तरिक सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापनलगायतका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
पछिल्लो समय सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणमा विशेष सक्रियता देखाएको गुल्मले विभिन्न स्थानबाट लाखौँ रुपैयाँ मूल्यका अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउँदै आएको छ। त्यस्तै, लागू औषध नियन्त्रण, मानव बेचबिखन रोकथाम तथा सीमापार हुने आपराधिक गतिविधि नियन्त्रणमा समेत गुल्मले निगरानी र सक्रियता बढाएको छ।
सीमा सुरक्षासँगै स्थानीय नागरिकको दैनिक जनजीवनलाई सहज बनाउने विषयमा पनि गुल्मले उत्तिकै ध्यान दिँदै आएको छ। सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई घरायसी प्रयोजनका सामान्य सामान ल्याउँदा अनावश्यक दुःख नदिई सहजीकरण गर्ने नीति अवलम्बन गर्दै आएको गुल्मले स्थानीय नागरिकसँग समन्वय र सहकार्यलाई समेत प्राथमिकता दिएको छ।
गुल्मले घरायसी प्रयोजनका सामान ल्याउने स्थानीयलाई सहज वातावरण बनाएकोप्रति स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। उनीहरूले सशस्त्र प्रहरीले स्थानीयको आवश्यकतालाई बुझेर सहजीकरण गरेको भन्दै प्रशंसा गरेका छन्। साथै, घरायसी सामान ल्याउने सर्वसाधारणलाई सहजता दिनुपर्ने भए पनि त्यसको आडमा गलत गतिविधि गर्ने व्यक्ति वा समूहलाई भने कुनै पनि हालतमा संरक्षण गर्न नहुने स्थानीयको भनाइ छ। अवैध ओसारपसार तथा अन्य गैरकानुनी गतिविधिमा संलग्नलाई कारबाही गर्न आफूहरूले पनि साथ र सहयोग गर्ने स्थानीयवासी बताउँछन्।
सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्नुका साथै सर्वसाधारणको आवतजावत र दैनिक आवश्यकतालाई सहज बनाउने प्रयासले स्थानीयस्तरमा गुल्मप्रति सकारात्मक धारणा विकास हुँदै गएको छ।
सीमा सुरक्षालाई प्रभावकारी बनाउने, अवैध ओसारपसार नियन्त्रण गर्ने र स्थानीय नागरिकसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने उद्देश्यसहित सीमा सुरक्षा गुल्म नरैनापुरले आफ्नो कार्यक्षेत्रमा नियमित निगरानी तथा सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको छ।