नेपाल–भारत सीमा सुरक्षामा नयाँ रणनीति : अवैध गतिविधि नियन्त्रणदेखि प्रविधिमैत्री व्यवस्थापनसम्म

शुक्रबार, कात्तिक १३, २०८३

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा काठमाडौँमा आयोजित नेपाल–भारत १०औँ समन्वय बैठक कात्तिक १३ गते सम्पन्न भएको छ ।

बैठकमा अघिल्लो ९औँ समन्वय बैठकका निर्णयहरूको प्रगति समीक्षा गर्दै रणनीतिक, अपरेसनल र कार्यक्षेत्र तहमा सहकार्य तथा शीघ्र सूचना आदानप्रदानमार्फत सीमा क्षेत्रमा हुने अवैध गतिविधि र सीमापार अपराध नियन्त्रण गर्ने विषयमा दुवै देशका सुरक्षा नेतृत्वबीच साझा प्रतिबद्धता व्यक्त गरिएको छ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरू, परराष्ट्र तथा गृह मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । त्यस्तै, भारतका तर्फबाट सशस्त्र सीमा बलका उच्च अधिकृतहरू, काठमाडौँस्थित भारतीय दूतावास तथा विदेश र गृह मन्त्रालयका प्रतिनिधिहरू सहभागी भएका थिए ।

नेपाल–भारत सीमा क्षेत्रमा समग्र सुरक्षा अवस्था शान्तिपूर्ण कायम राख्न सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलका इकाइहरूले प्रदर्शन गरेको उच्च व्यावसायिकता र सहकार्यको बैठकमा सराहना गरिएको थियो । सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक सूचनाले आपसी सुरक्षा र सामाजिक सद्भावमा उत्पन्न गरेको चुनौती सामना गर्न संस्थागत सहकार्य सुदृढ बनाउने सहमति पनि भएको छ ।

दशगजा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अनधिकृत खेतीपाती, अतिक्रमण तथा अवैध संरचना हटाउने कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ । साथै, बाउन्ड्री वर्किङ ग्रुप (BWG) र सर्भे अफिसियल्स कमिटी (SOC) को निर्णयअनुसार सीमा स्तम्भहरूको नियमित मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि फिल्ड तहमा समन्वय बढाउने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

त्यसैगरी, सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, नक्कली नोट तथा लागुऔषध नियन्त्रण र तेस्रो मुलुकका नागरिकको अनधिकृत आवागमन रोक्न समयमै सूचना आदानप्रदान गर्दा प्रभावकारी नतिजा प्राप्त भएको निष्कर्ष निकालिएको छ । यस्ता गतिविधि नियन्त्रणका लागि सूचना आदानप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

खुला सीमाको दुरुपयोग गरी तेस्रो मुलुकका नागरिकबाट हुने अवैध प्रवेश रोक्न सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरणलाई कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शंकास्पद व्यक्तिबारे तत्काल सूचना आदानप्रदान गर्ने सहमति भएको छ । सीमा सुरक्षाका चुनौती सामना गर्न आधुनिक प्रविधि र विशेष तालिमसम्बन्धी सहयोग विस्तार गर्नुका साथै दुवै सुरक्षा निकायबीच नियमित अध्ययन भ्रमणमार्फत संस्थागत सम्बन्ध थप प्रगाढ बनाउने निर्णय गरिएको छ ।

परम्परागत सुरक्षा प्रणालीबाट आधुनिक तथा प्रविधिमैत्री स्मार्ट सीमा व्यवस्थापनतर्फ अघि बढ्ने उद्देश्यले दशगजा क्षेत्रको निगरानीका लागि सीसीटीभी, प्रमुख सीमा नाकाहरूमा लगेज स्क्यानर र वाक–थ्रु मेटल डिटेक्टर जडान गर्ने तथा आ–आफ्नो भूभागमा ड्रोनको प्रयोग बढाउने विषयमा पनि गहन छलफल भएको छ ।

त्यस्तै, बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्को सामना गर्न चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयमा ‘Joint Swift Water Rescue Exercise’ सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ ।

वैधानिक रूपमा यात्रा गर्ने यात्रुहरूको सहजताका लागि सीमा नाकाहरूमा सहायता कक्ष (Help Desk) विस्तार गर्ने सहमति पनि भएको छ । त्यसैगरी, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता तथा विभिन्न अन्तर्राष्ट्रिय दिवस र प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरी द्विपक्षीय विश्वास र सद्भाव अभिवृद्धि गर्ने निर्णय गरिएको छ ।

उक्त बैठक कात्तिक ११ गतेदेखि सञ्चालन भएको थियो । सन् २०१२ देखि पालैपालो नेपाल र भारतमा आयोजना हुँदै आएको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीचको द्विपक्षीय समन्वय बैठक आगामी वर्ष भारतमा आयोजना गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १५:२६
प्रतिक्रिया दिनुहोस्