सशस्त्र प्रहरीले नियन्त्रणमा लियो पश्चिम नवलपरासीबाट ८० लाखभन्दा बढीका मोबाइल पार्ट्स

शनिबार, असोज ३, २०८३

नवलपरासी । पश्चिम नवलपरासीस्थित  सशस्त्र प्रहरीले ८० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल तथा विद्युतीय सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट खटिएको टोलीले बर्दघाट नगरपालिका–४ स्थित झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा ती सामान बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक जगनाथ पौडेलको कमाण्डमा खटिएको टोलीले गए राति ११:५५ बजे झाडीमा खोजतलास गर्दा मोबाइलका ब्याट्री, टेम्पर्ड ग्लास, एयरबड, स्मार्टवाच, स्पिकरलगायतका सामग्री फेला पारेको थियो।

बरामद सामानको अनुमानित मूल्य ८० लाख ३० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। बरामद सबै अवैध सामग्रीलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  १०:१३
प्रतिक्रिया दिनुहोस्