बाँके कांग्रेस सभापतिमा उम्मेदवारी दिने तयारीमा पोषण केसी, यस्तो छ उनको राजनीतिक यात्रा!

शनिबार, कात्तिक १४, २०८३

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदमा उम्मेदवारी दिने तयारीमा युवा नेता पोषण केसी जुटेका छन् । पार्टीको आसन्न जिल्ला अधिवेशनलाई लक्षित गर्दै बाँके क्षेत्र नम्बर १ का निवर्तमान सभापति केसीले आफ्नो राजनीतिक तथा संगठनात्मक अनुभव, पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका र शैक्षिक योग्यतालाई अघि सार्दै सभापतिको प्रतिस्पर्धामा उत्रिने तयारी गरेका हुन् । 

केन्द्रीय कार्यसमितिले जिल्ला अधिवेशनको मिति तय गरेपछि पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका केसीले बाँके कांग्रेसलाई एकताबद्ध, गतिशील र संगठनात्मक रूपमा सुदृढ बनाउने एजेन्डा अघि सारेका छन् ।

२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापनासँगै नेपाल विद्यार्थी संघको विद्यालयस्तरीय कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका ५० बर्षीय केसीको राजनीतिक यात्रा निरन्तर संघर्ष र संगठनप्रतिको प्रतिबद्धतासँग जोडिएको छ । केसी २०५० सालमा नेविसंघ बाँके जिल्ला कमिटीको सदस्य बनेका थिए । अध्ययन, राजनीतिसँगै उनले पत्रकारितालाई पनि अगाडि बढाउने अवसर प्राप्त गरे । २०४८ सालमै उनी पत्रकारितामा होम्मिएका थिए । रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचारबाट पत्रकारिता प्रारम्भ गरेका केसी २०५२ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद् भए ।

२०५८ सालमा उनी महासंघको केन्द्रीय सदस्य भए । २०६४ सालमा महासंघको महासचिव बनेर नेतृत्वदायी भूमिका निभाए । २०६८ सालमा भने उनी नेपाली काँग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य बनेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरे ।

२०६९ र २०७१ मा पत्रकार महासंघको अध्यक्षका प्रत्यासी केसीले २०७२ सालमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष जस्तो गरिमामय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा पत्रकारिता हुँदै नेपाली कांग्रेसको संगठनात्मक नेतृत्वसम्म पुगेको हो । नेपाल विद्यार्थी संघको राजनीतिबाट पाइला अघि सारेका केसी दुई दशकको सक्रिय पत्रकारितालाई विट मार्दै पूर्णकालीन राजनीतिक यात्रामा होमिएका थिए। 

बाँकेको तत्कालीन खासकुश्मा गाविस, हाल राप्तीसोनारी गाउँपालिका-१ लौकीमा २०३२ सालमा जन्मिएका केसी २०७८ सालमा नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को सभापतिमा निर्वाचित भएका थिए । उनको नेतृत्वकालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीलाई सफलता दिलाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका उनी अहिले जिल्ला नेतृत्वको जिम्मेवारी लिने तयारीमा छन् । केसी क्षेत्रीय सभापति हुँदा संगठनलाई चलायमान र गतिशील बनाउन निरन्तर विभिन्न गतिविधि, कार्यक्रम, प्रशिक्षणहरु सञ्चालन गरेको कांग्रेस नेताहरु बताउँछन् । नेता कार्यकर्ताका समस्यामा सधैं साथ दिन अग्रसर हुने छवि पनि केसीले बनाएका छन् । कार्यकर्ताको सुखदुःखमा अहोरात्र खटिने भएकाले केसीलाई सबैले रुचाउने गरेका छन् ।

राजनीति र पत्रकारिता दुवै क्षेत्रमा अनुभव हासिल गरेका केसी नेपाल पत्रकार महासंघको केन्द्रीय महासचिव भइसकेका छन् । महासंघको केन्द्रीय अध्यक्ष पदमा समेत प्रतिस्पर्धा गरेका उनले पत्रकारिता क्षेत्रमा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । रेडियो नेपालमा लामो समय समाचार शाखामा काम गरेका केसीको पत्रकारिता क्षेत्रमा पनि छुट्टै पहिचान छ । शैक्षिक योग्यताका हिसाबले केसीले एमए, बीएल, एमफिल तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । उनी त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) का शोधार्थी समेत हुन्।

सभापति पदको दाबेदारीसँगै केसीले अनुभव, समन्वय, संवाद र सहकार्यमा आधारित नेतृत्वको आवश्यकता औँल्याएका छन् । व्यक्ति भन्दा विचार, पद भन्दा जिम्मेवारी र गुट भन्दा संगठनलाई प्राथमिकता दिएर पार्टीलाई अघि बढाउनुपर्ने उनको धारणा छ । 'नेपाली कांग्रेस बाँकेलाई अझ एकताबद्ध, गतिशील र संगठनात्मक रूपमा सुदृढ बनाउनु अहिलेको आवश्यकता हो । व्यक्तिगत प्रतिस्पर्धा भन्दा माथि उठेर आपसी विश्वास, सहकार्य र एकताका आधारमा पार्टीलाई बलियो बनाउनुपर्छ,' केसीको भनाइ छ ।

विगतको अनुभवलाई वर्तमानको जिम्मेवारीसँग जोड्दै नयाँ पुस्तालाई समेत समेटेर अघि बढ्ने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा जोड दिएका केसीले सबैलाई समेट्ने संगठन निर्माणलाई आफ्नो प्राथमिकता बनाएका छन् । नेपाली कांग्रेसले गाउँ, नगर र क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ । तर,  प्रदेश र जिल्ला अधिवेशन हुन भने बाँकी छन् । सम्भवतः मंसिरभित्रै जिल्ला अधिवेशन हुने अपेक्षासंगै बाँके कांग्रेसमा नेतृत्वका आकांक्षीहरू सक्रिय हुन थालेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्