समाचार लेखेकै विषयमा पत्रकार पक्राउ, प्रेस काउन्सिलले माग्यो जवाफदेहित

शुक्रबार, कात्तिक १३, २०८३

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास भएको घटनाप्रति प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ ।

शुक्रबार सरकारी कार्यालय समय सकिएपछि सादा पोशाकमा खटिएका प्रहरीले सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलको ठहर छ ।

काउन्सिलले जारी गरेको विज्ञप्तिमा पत्रकार पक्राउ गर्नुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको विषयसमेत स्पष्ट नभएको उल्लेख छ । लगातार दुई दिन सार्वजनिक बिदा हुनुअघि गरिएको यस्तो गतिविधिलाई काउन्सिलले गम्भीर आपत्तिको विषय भनेको छ ।

प्रहरी प्रधान कार्यालयको विज्ञप्तिको पृष्ठभूमिमा भएको घटनाले पत्रकारिताको व्यावसायिक स्वतन्त्रतामाथि असर पार्न सक्ने काउन्सिलको भनाइ छ । सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन र निरूपण गर्ने अधिकार प्रेस काउन्सिलसँग रहेको भन्दै काउन्सिलले समाचारकै विषयमा प्रहरी परिचालन गर्नुभन्दा स्थापित कानुनी प्रक्रियाबाट समाधान खोज्न सरकार र प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।

त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्थाबारे तत्काल जानकारी दिन र पक्राउको कानुनी आधार सार्वजनिक गर्न काउन्सिलले माग गरेको छ । कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्नसमेत आग्रह गरिएको छ ।

शुक्रबार नेपाल प्रेसमा कार्यरत विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका छन् । मैनालीलाई नलिई कार्यालयबाट नफर्किने अडानसहित प्रहरी त्यहीँ बसेको जनाइएको छ ।

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई पनि सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  २०:००
प्रतिक्रिया दिनुहोस्