गृह मन्त्रालयले गर्‍यो एन–प्याब्सनलाई निलम्बन (सूचनासहित)

शुक्रबार, कात्तिक १३, २०८३

काठमाडौँ । सरकारी निर्देशनको पटक–पटक अवज्ञा गरेको र स्वीकृत विधानविपरीत गतिविधि गरेको आरोपमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) निलम्बनमा परेको छ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म संगठनको निलम्बन कायम रहने जनाएको हो। मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) लाई आधार बनाएर उक्त निर्णय गरेको जनाएको छ।

मन्त्रालयका अनुसार एन–प्याब्सनका पदाधिकारीबाट सरकारद्वारा स्वीकृत विधान र संस्थाको मूल उद्देश्यसँग मेल नखाने गतिविधि भएका थिए। यसका अतिरिक्त, मन्त्रालयले ऐनको दफा ५ बमोजिम जारी गरेका निर्देशनसमेत पटक–पटक पालना नभएको पाइएको छ।

यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित पक्षहरूसँग छलफल गरी आवश्यक निर्देशन कार्यान्वयन गर्न आग्रह गरेको थियो। मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशन तथा राष्ट्रिय निर्देशन ऐनअनुसारका काम गर्न भनिए पनि त्यसको कार्यान्वयन नभएपछि निलम्बनको निर्णय लिइएको हो।

मन्त्रालयले निलम्बनपछि एन–प्याब्सनको नाम प्रयोग गरी कुनै समूह वा गुटले गतिविधि सञ्चालन गरे त्यस्ता कार्य गैरकानुनी हुने स्पष्ट पारेको छ। सूचनाको अवज्ञा गर्दै गतिविधि सञ्चालन गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्