सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्रमार्फत औपचारिक रूपमा करसम्बन्धी सेवा सुरु भएको छ। सेवा सञ्चालनमा आएसँगै गाउँपालिकामै पहिलो व्यावसायिक स्थायी लेखा नम्बर(प्यान) प्रमाणपत्र जारी गरिएको छ। गाउँपालिका–२, बेउचहवास्थित मदिना परफ्युम एण्ड जनरल स्टोरकी सञ्चालक जन्नतुल पठानिनलाई बुधबार पहिलो व्यावसायिक प्यान प्रमाणपत्र हस्तान्तरण गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली र करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले संयुक्त रूपमा पठानिनलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। नरैनापुरमै करदाता सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय व्यवसायी तथा करदातालाई प्यान नम्बर लिन र करसम्बन्धी सेवा प्राप्त गर्न नेपालगन्ज धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। स्थानीय तहमै करसम्बन्धी सेवा उपलब्ध हुँदा व्यवसाय दर्ता तथा कर प्रशासनसँग सम्बन्धित काम सहज हुने र सेवाग्राहीको समय तथा खर्चसमेत बचत हुने विश्वास गरिएको छ।