सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बालबालिकाको आधारभूत सिकाइ बलियो बनाउने उद्देश्यले ‘ठूली दिदी’ (बिग सिस्टर) मोडेलमा आधारित परियोजना बाँकेसहित लुम्बिनी प्रदेशका चार जिल्लामा सञ्चालन भइरहेको छ । हेम्पेल फाउन्डेसनको आर्थिक सहयोग तथा भीएसओ नेपालको साझेदारीमा सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुले स्थानीय तहसँगको सहकार्यमा ‘आधारभूत सिकाइका लागि बिग सिस्टर मोडेलको परिष्कृत र विस्तार परियोजना’ सञ्चालन गरेको हो ।
परियोजना अन्तर्गत बाँके, बर्दिया, दाङ र कपिलवस्तुका विभिन्न स्थानीय तहमा विद्यालय तथा समुदायसँग सहकार्य गर्दै बालबालिकाको पढाइ, लेखाइ र गणितीय सीप सुधारमा जोड दिइएको छ । परियोजनाले विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, अभिभावक तथा शिक्षकको क्षमता विकाससँगै समावेशी र लैंगिक उत्तरदायी शिक्षालाई समेत प्राथमिकता दिएको छ । स्थानीय सरकारसँगको समन्वय, नीति निर्माणमा सहकार्य र बजेट समावेशीकरणमार्फत ‘ठूली दिदी’ मोडेललाई संस्थागत गर्ने लक्ष्य समेत परियोजनाले लिएको छ ।
परियोजनाबाट ४६२ विद्यालय, ४ हजार ६ सय २० शिक्षक, १ लाख १५ हजार विद्यार्थी, ८० हजार अभिभावकरहेरचाहकर्ता र ६ हजार ६ सय विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक समिति प्रत्यक्ष लाभाविन्त हुने बताइएको छ । साथै, ९५ जना ‘ठूली दिदी’ परिचालन गरी बालबालिकालाई सिकाइमा सहयोग गर्ने व्यवस्था गरिएको छ ।
परियोजनाको अनुभव, उपलब्धि, चुनौती र सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपालगञ्जमा जिल्लास्तरीय वार्षिक सिकाइ तथा अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा ‘ठूली दिदी’हरूले परियोजनाका क्रममा प्राप्त गरेका प्रत्यक्ष अनुभव, सिकाइ, असल अभ्यास, चुनौती र समाधानका विषय प्रस्तुत गरेको सिकाई २ परियोजनाका जिल्ला शिक्षा अधिकृत गणेश बहादुर भुजेलले बताए । साथै, आगामी दिनमा परियोजनालाई अझ प्रभावकारी बनाउने रणनीति र योजनाबारे सरोकारवालाबीच छलफल पनि भएको भुजेलले जानकारी दिए ।
समापन कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुका अध्यक्ष त्रिलोचन घिमिरेको अध्यक्षतामा सम्पन्न भएका थियो । त्यसक्रममा परियोजना सञ्चालित विभिन्न पालिकाका शिक्षा शाखा प्रमुख एवम् अधिकृतहरु, शिक्षक, अभिभावक लगायतले पृष्ठपोषणसहित आवश्यक समन्वय र सहकार्यको प्रतिबद्धता ब्यक्त गरेका थिए । खजुराका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, जानकीका शिक्षा शाखा प्रमुख कृष्णाकुमारी भण्डारी, राप्तीसोनारीका शिक्षा शाखा प्रमुख मोहन वि।सी। लगायतले बोलेका थिए । परियोजनाका बारेमा परियोजना म्यानेजर फिरोज सिद्दिकीले जानकारी गराएका थिए ।
परियोजनाका जिल्ला शिक्षा अधिकृत भुजेलले सञ्चालन गरेको कार्यक्रममा कोहलपुर नगरपालिकाकी ठूली दिदी तारा थापा क्षेत्रीले स्वागत मन्तब्य गरेकी थिइन् । कार्यक्रममा कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख रविलाल मिजार, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, जानकी गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि शाखा प्रमुख विकास जि।सी। लगायतले उपस्थिति थियो ।
स्थानीय तहको सहकार्य र स्वामित्वले परियोजनालाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास आयोजकको छ। विद्यालय, शिक्षक, अभिभावक र समुदायलाई जोडेर बालबालिकाको आधारभूत सिकाइ सुधार गर्ने अभियानलाई थप विस्तार गर्ने लक्ष्य परियोजनाले लिएको छ । यो ४२ महिने परियोजना हो । मे २०२५ मा सुरु भएको परियोजना अक्टोबर २०२८ सम्म चल्नेछ ।