नरैनापुरमै सुरु भयो आन्तरिक राजस्व सेवा, अब करसम्बन्धी कामका लागि नेपालगञ्ज धाउन नपर्ने

बुधबार, असोज ७, २०८३

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाबाट आन्तरिक राजस्वसम्बन्धी सेवा सञ्चालनमा आएको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले दिँदै आएको सेवा अब गाउँपालिकाको आन्तरिक राजस्व शाखाबाटै उपलब्ध हुने भएको हो ।

बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरिएको हो । पहिलो सेवाका रूपमा स्थायी लेखा नम्बर ९पान० जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

यसअघि पानलगायत आन्तरिक राजस्वसँग सम्बन्धित कामका लागि नरैनापुरका सेवाग्राही नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो । स्थानीय तहमै सेवा सुरु भएपछि करदाता, व्यवसायी, सङ्घसंस्था तथा सर्वसाधारणलाई समय र खर्च बचत हुने भएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्थानीय तहमै आन्तरिक राजस्व सेवा उपलब्ध हुनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले सेवा लिन नेपालगञ्ज पुग्नुपर्ने अवस्थाको अन्त्य भएपछि स्थानीय व्यवसायी तथा अन्य सेवाग्राहीलाई सहज हुने बताए ।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेले सेवाग्राहीलाई पायक पर्ने स्थानबाट सेवा उपलब्ध गराउने उद्देश्यले नरैनापुरमा सेवा विस्तार गरिएको बताए । स्थानीय तहबाटै सेवा प्रवाह हुँदा राजस्व परिचालनमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यअनुसार उपलब्ध स्रोतसाधनको प्रयोग गरी आन्तरिक राजस्वसम्बन्धी सेवा सञ्चालनमा ल्याइएको बताए ।

नेपाल सरकारले करदाता सेवा कार्यालय खारेज गरी त्यहाँबाट हुँदै आएका कार्य स्थानीय तहबाटै सञ्चालन गर्ने निर्णय गरेपछि नरैनापुरमा पनि सेवा सुरु गरिएको हो । सरकारको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार स्थानीय तहमा आन्तरिक राजस्वसम्बन्धी सेवा विस्तार गरिएको जनाइएको छ ।

अब नरैनापुर क्षेत्रका सेवाग्राहीले आन्तरिक राजस्वसम्बन्धी सामान्य कामका लागि नेपालगञ्ज पुग्नुपर्ने अवस्थाबाट छुटकारा पाउने भएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  २१:०४
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह