सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज। नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ को १५औँ नियमित महाधिवेशन पक्षधरको क्षेत्रीय सभापतिमा राजकुमार पोखरेल हमाल (राजु हमाल) निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचित भए पस्चात सभापति हमालले आफूप्रति व्यक्त गरिएको विश्वास, माया र सद्भावलाई उच्च सम्मान गर्दै नेपाली कांग्रेसको संगठन सुदृढीकरण, पार्टीभित्र एकता र सहकार्य अभिवृद्धि तथा जनताको सेवामा इमानदारीपूर्वक समर्पित रहने प्रतिबद्धता जनाएका छन्।
उनले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई अवसर मात्र नभई पार्टी र जनताप्रतिको महत्त्वपूर्ण दायित्वका रूपमा लिएको उल्लेख गर्दै सबैको विश्वास र भरोसालाई सधैँ सम्मान गर्ने बताएका छन्।
त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिका नगर सभापतिमा नाकुल खत्री निर्विरोध निर्वाचित भएका छन्।
नेपाली कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनको विषयमा मतभेद देखिँदै आएका बेला नियमित महाधिवेशन पक्षधरले आफ्नो संगठनात्मक गतिविधिलाई अघि बढाएका हुन्।
शेरबहादुर देउवा पक्षका नेताहरूले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै नियमित महाधिवेशनमार्फत पार्टीको आन्तरिक प्रक्रिया अघि बढाउनुपर्ने अडान राख्दै आएका छन्। उक्त पक्षले अहिले पार्टीको आन्तरिक विवादभन्दा देश निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएको छ।
क्षेत्र नं. २ मा हमालको नेतृत्व चयनसँगै नियमित महाधिवेशन पक्षधरले संगठन विस्तार र पार्टीको आन्तरिक गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।