पत्रकार पक्राउले चर्कियो प्रेस स्वतन्त्रताको बहस, सबै पत्रकार रिहा: सञ्चारमन्त्री

शुक्रबार, कात्तिक १३, २०८३

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू पक्राउ परेपछि उत्पन्न परिस्थितिबीच सरकारले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सबै पत्रकार रिहा भइसकेको जानकारी दिएका हुन्।

मन्त्री तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रताको सम्मान गर्ने उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका महत्वपूर्ण आधार भएको बताएका छन्। सरकारले प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाएको उनको भनाइ छ।

यसअघि प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो। नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकमा खटिएका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका थिए। मैनालीलाई लिएरै जाने अडानसहित प्रहरी टोली दुई घण्टाभन्दा बढी समय कार्यालयमा बसेको थियो।

शुक्रबार साँझ नयाँ पत्रिकाको कार्यालयबाट प्रहरी टोली फर्किएको छ। टोलीले पत्रकार मैनाली र सम्पादक खगेन्द्र पन्तलाई शनिबार साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिएर फर्किएको हो।

पत्रकार पक्राउको घटनापछि प्रेस स्वतन्त्रता र पत्रकारिताको निर्बाध अभ्यासबारे चासो बढिरहेका बेला सञ्चारमन्त्रीले सबै पक्राउ परेका पत्रकार रिहा भएको जानकारी दिएका हुन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  २०:३०
प्रतिक्रिया दिनुहोस्