सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको २ लाख ४३ हजार ९ सय रुपैयाँ मूल्य बढीका विभिन्न किसिमका विस्फोटक पदार्थ (पटाका) बरामद गरी नष्ट गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म जमुनहाले बाँकेको बढैया, पचपोखरा र जमुनहा नाकाबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा दुई दिनको अन्तरमा उक्त पटाका बरामद गरेको हो । सीमा सुरक्षा गुल्म जमुनहाका डीएसपी जीवन मल्लको कमान्डमा खटिएको सशस्त्र प्रहरी टोलीले पटाका नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बाँकेले जनाएको छ ।
बरामद गरिएका पटाका शुक्रबार दिउँसो सीमा सुरक्षा गुल्म जमुनहाको परिसरमा खाल्डो खनी गाडेर पानी हाली नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
पटाका नष्ट गर्ने क्रममा सीमा सुरक्षा गुल्म जमुनहाका डीएसपी मल्ल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, पत्रकार र सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
तिहार तथा अन्य चाडपर्वका समयमा पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र प्रयोगले जनधनको क्षति तथा आगलागीजस्ता जोखिम निम्त्याउन सक्ने भएकाले सीमा क्षेत्रमा निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।