सशस्त्र प्रहरीका ११ हजार ७ सय बढी जनशक्ति विपद् उद्धारका लागि स्ट्यान्डबाइमा 

बिहीबार, असोज ८, २०८३

काठमाडौं । मनसुनजन्य विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपालले देशभर ११ हजार ७ सयभन्दा बढी जनशक्ति ‘स्ट्यान्डबाइ’ राखेको छ।

बाढी, पहिरो तथा डुबानबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीले देशभरका ६ सय ५० जोखिमयुक्त स्थानमा आवश्यक जनशक्ति परिचालन अवस्थामा राखेको हो।

सम्भावित जोखिमयुक्त क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यमा खटिन सक्ने गरी सशस्त्र प्रहरीले व्यापक पूर्वतयारी तथा परिचालन योजना कार्यान्वयनमा ल्याएको छ। साथै, थप जनशक्ति र उद्धार सामग्रीको समेत प्रभावकारी व्यवस्थापन गरिएको छ।

जसअन्तर्गत २ हजार ६० जना विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिका साथै १ सय ३३ जना गोताखोर, २ सय २४ जना रोप रेस्क्युलगायत उच्च भू–भाग खोज तथा उद्धार तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू प्रत्यक्ष रूपमा खटिएका छन्।

डुबानमा परेकाहरूको उद्धारका लागि १ सय ३ वटा र्‍याफ्ट बोट र ५८ वटा मोटर बोट तयारी अवस्थामा राखिएको छ। त्यस्तै, खोज तथा उद्धार कार्यलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउन ३० वटा तालिमप्राप्त के–नाइन डग स्क्वाड र ५ वटा विशेष ड्रोनसमेत परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।

जोखिमयुक्त क्षेत्रमा विपद्का कारण सडक अवरोध भए तत्काल हटाउन तथा हेभी रेस्क्युका लागि नदी करिडोर र प्रदेशस्थित वाहिनी मुख्यालयहरूमा ह्विल लोडर, क्रेन र एक्साभेटरजस्ता हेभी इक्यूपमेन्टसमेत तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यस्तै, उच्च जोखिममा रहेका सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशूली, नारायणी, बागमती नदी तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते र नख्खुलगायत खोलामा आवश्यक उद्धार सामग्रीसहित विपद् व्यवस्थापन जनशक्ति तयारी अवस्थामा राखिएको छ।

सशस्त्र प्रहरी बल, नेपालले र्‍याफ्ट एसोसिएसनसँगको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशमा थप १०/१० वटा र्‍याफ्ट बोट पूर्वतयारी अवस्थामा राख्ने योजनासमेत बनाएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने गरी रणनीति तयार गरिएको छ।

भारी वर्षा तथा बाढीपहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले असोज ९ देखि ११ गतेसम्म जोखिमयुक्त नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन माइकिङ गर्ने भएको छ। सडक मार्गमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा उच्च सतर्कता अपनाउनसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १५:४३
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह