‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित बाँके प्रशासन अगाडि प्रदर्शन

बुधबार, मंसिर ९, २०८३

नेपालगन्ज । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा बुधबार जिल्ला प्रशासन कार्यालय बाँके अगाडि प्रदर्शन गरिएको छ ।

बाँकेका पत्रकारले सामूहिक गिरफ्तारीको चुनौती दिँदै प्रदर्शन गरेका हुन् । नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर अनुसार महासंघ बाँके शाखाको अगुवाईमा 'पत्रकारलाई सामूहिक गिरफ्तार गर'  लेखिएको ब्यानर र प्ले-कार्डसहित प्रदर्शन गरिएको हो । 

सो क्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले वर्तमान सरकार सञ्चार माध्यम र पत्रकारविरुद्ध निर्ममरुपले प्रस्तुत भइरहँदा आन्दोलित हुनुपरेको बताए । उनीहरुले प्रेसको घाँटी निमोठ्ने र प्रेसलाई शत्रु देख्ने प्रबृत्तिविरुद्ध आफूहरुले आन्दोलन थालेको बताए । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा गर्दै महासंघका मागको सुनुवाई गर्न उनीहरुको आग्रह छ ।

निजी मिडियामा आर्थिक नाकाबन्दी लगाउने, मिडिया हाउस अगाडि गाडी तेर्साउने, समाचार कक्षबाट पत्रकारलाई धरपकड गर्ने, लोककल्याणकारी विज्ञापनको रकममा भारी कटौती गर्ने सरकारको प्रेस विरोधी कदमविरुद्ध महासंघ निरन्तर आन्दोलनमा छ । 

धर्नाका क्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरजकुमार गौतम, झलक गैरे, रुद्र सुवेदी, महासंघका वर्तमान तथा पूर्व पदाधिकारी, विभिन्न आस्थागत संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरु, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगायतको उपस्थिति रहेको सचिव कृष्ण ओलीले बताए ।  

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १९:४०
प्रतिक्रिया दिनुहोस्