नेपाल–भारतबीच आठ विषयमा समझदारी

सोमबार, मंसिर ७, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको उच्चस्तरीय भेटवार्तापछि ती विषयमा समझदारी भएको हो।

समझदारीअनुसार दुवै देशले सुरक्षा, शिक्षा, स्वास्थ्य, प्रविधि, सहरी विकास तथा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सहकार्य अघि बढाउने भएका छन्।

समझदारी भएका आठ विषयमा फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक अधिकारीहरूको तालिम, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालन रहेका छन्।

समझदारीका मुख्य आठ विषय

१. फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।

२.प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी जनशक्तिको प्रशिक्षण तथा क्षमता विकासमा सहकार्य गर्ने सहमति भएको छ।

३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच नेपाली सरकारी अधिकारीहरूलाई तालिम प्रदान गर्ने विषयमा समझदारी भएको छ।

४. आयुर्वेद र परम्परागत चिकित्सा : आयुर्वेदसहित उपचारका विभिन्न परम्परागत पद्धतिको विकास र प्रवर्द्धनका लागि दुवै देशले सहकार्य गर्ने भएका छन्।

५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने समझदारी भएको छ।

६. सहरी विकास : दिगो सहरी विकासलाई अघि बढाउन आवश्यक प्राविधिक सहयोग र अनुभव आदानप्रदान गर्ने विषयमा दुवै देशबीच सहकार्य हुने भएको छ।

७. स्वास्थ्य र चिकित्सा : स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रको विकास र विस्तारका लागि नेपाल र भारतले मिलेर काम गर्ने समझदारी गरेका छन्।

८. पशुपालन र मत्स्यपालन : पशुपालन तथा मत्स्यपालन क्षेत्रको विकास र प्रवर्द्धनका लागि दुवै देशले सहकार्य गर्ने भएका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १५:११
प्रतिक्रिया दिनुहोस्