सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नयाँ दिल्ली । भारतले नेपालको बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासमा सहयोग पुर्याउन २४० अर्ब नेपाली रुपैयाँ (१५ हजार करोड भारतीय रूपैयाँ) बराबरको विकास सहायता प्याकेज घोषणा गरेको छ। सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री वालेन्द्र साहसँगको उच्चस्तरीय द्विपक्षीय वार्तापछि आयोजित संयुक्त प्रेस वक्तव्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन्।
गत अगस्टमा नेपालमा गएको भीषण बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मोदीले कठिन समयमा भारत सधैँ काठमाडौँसँगै उभिने प्रतिबद्धता दोहोर्याए। “नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई नयाँ शक्ति प्रदान गर्न हामी २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता प्याकेज घोषणा गर्दछौँ,” मोदीले भने, “प्रभावित परिवारको जनजीवन पुनः लयमा फर्कियोस्, नयाँ अवसर सिर्जना होउन् र भविष्यमा आउन सक्ने विपद्सँग जुध्ने नेपालको क्षमता थप सुदृढ होस् भन्ने हाम्रो संकल्प रहनेछ।”
पदभार ग्रहण गरेपछिको पहिलो द्विपक्षीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री साहको स्वागत गर्दै मोदीले केही महिनाअघि विश्वकै कान्छो प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्दा नै उनको दूरदृष्टिको झलक देखिएको बताए। यस वर्ष नेपाली जनताले दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताको आकांक्षा प्रतिबिम्बित गरेको उल्लेख गर्दै मोदीले नेपाल–भारत सम्बन्ध घनिष्ठ आत्मीयता र अटुट विश्वासमा अडेको धारणा राखे।
वार्तापछि दुई देशबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती सेवा क्षमता अभिवृद्धि, स्वास्थ्य, परम्परागत चिकित्सा, दिगो सहरी विकास र कृषि लगायतका क्षेत्रमा आठवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। जसअनुसार दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन (स्याटकम) नेटवर्क स्थापना गर्न भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच समझदारी भएको छ। प्रहरी प्रशासन र विधि विज्ञानमा सहकार्य सुदृढ गर्न भारतको राष्ट्रिय विधि विज्ञान विश्वविद्यालय (एनएफएसयू) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच तथा भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) बीच छुट्टाछुट्टै सम्झौता भएका छन्।
संस्थागत सुशासनका लागि भारतको राष्ट्रिय सुशासन केन्द्र (एनसीजीजी) र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिमसम्बन्धी समझदारी भएको छ। स्वास्थ्य क्षेत्रमा चिकित्सा सहकार्य तथा आयुर्वेद एवं परम्परागत चिकित्सा पद्धतिका लागि सरकार–सरकार (जीटूजी) स्तरका दुईवटा सम्झौता भएका छन् भने दिगो सहरी विकास तथा पशुपन्छी एवं मत्स्य विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ।
यसैगरी, दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट ६ वटा प्रमुख सीमापार सम्पर्क सञ्जाल, ऊर्जा तथा पूर्वाधार परियोजनाको संयुक्त रूपमा उद्घाटन र शिलान्यास गरेका छन्। सांस्कृतिक तथा रेल सम्पर्क विस्तारअन्तर्गत भारतको अयोध्या र नेपालको जनकपुरधाम जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको शुभारम्भ गरिएको छ भने भारतको धार्चुला र नेपालको दार्चुलालाई जोड्ने नयाँ सीमापार मोटरेबल पुलको उद्घाटन भएको छ। साथै, बनबासामा निर्माण हुने नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को शिलान्यास गर्दै दुवै नेताले भैरहवा, सुनौली र दोधारा चाँदनीमा निर्माणाधीन आईसीपीको प्रगति समीक्षा समेत गरे।
ऊर्जा तथा पेट्रोलियम सहकार्यअन्तर्गत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। यस्तै, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन (एमएपीएल) को दोस्रो चरणको उद्घाटन र प्रस्तावित सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनअन्तर्गत झापामा निर्माण हुने पेट्रोलियम टर्मिनलको शिलान्यास समेत सोमबारै सम्पन्न भएको छ।