सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । कप्तान सोमपाल कामीको उत्कृष्ट ब्याटिङको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सलाई रोमाञ्चक रूपमा पराजित गरेको छ। विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौं बलमा ७ विकेट गुमाएर पूरा गर्यो।
कर्णालीको जितमा कप्तान सोमपाल नायक बने। उनले ३२ बलमा अविजित ६२ रन बनाए। उनको इनिङ्समा ४ चौका र ३ छक्का समावेश थियो। गुल्सन झा २१ बलमा २८ रन बनाएर अविजित रहे। यी दुईले सातौं विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए।
अन्तिम ओभरमा कर्णालीलाई जितका लागि ८ रन आवश्यक थियो। सोमपाल र गुल्सनले दबाबपूर्ण अवस्थामा संयमित ब्याटिङ गर्दै लक्ष्य पूरा गरे। ओभरको पहिलो बलमा सोमपालले एक रन लिए भने गुल्सनले दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन जोडे। चौथो र पाँचौं बलमा सोमपालले लगातार दुई-दुई रन लिएपछि कर्णालीले एक बल बाँकी छँदै जित सुनिश्चित गर्यो।
कर्णालीको सुरुवात भने राम्रो हुन सकेन। टोलीले सुरुवाती पाँच विकेट सस्तैमा गुमाएको थियो। मार्क वाट एक, दीपक डुम्रे २०, अक्बर अली एक, अरिफुल इस्लाम ३२ तथा हुसेन तलत शून्य रनमा आउट भए।
त्यसपछि सोमपालले पवन सर्राफसँग छैटौं विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए। पवनले २८ बलमा ३६ रन बनाएर आउट भए। पवनको विकेटपछि पनि सोमपालले आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै गुल्सनसँग मिलेर टोलीलाई जित दिलाए।
विराटनगरका बलरमध्ये एन्जेलो म्याथ्युजले सर्वाधिक तीन विकेट लिए। चरिथ असलंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एक-एक विकेट हात पारे।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो। विराटनगरका ओपनर लोकेश बमले सर्वाधिक ८७ रनको योगदान दिए। उनले ५२ बलमा ३ चौका र ९ छक्का प्रहार गरे।
लोकेशले चौथो विकेटका लागि एन्जेलो म्याथ्युजसँग ६७ रनको साझेदारी गरेका थिए। तर, १६औं ओभरको पाँचौं बलमा सोमपाल कामीको बलमा आउट भएपछि उनी एनपीएलमा शतक प्रहार गर्ने नेपाली खेलाडी बन्नबाट १३ रनले चुके।
एन्जेलोले २२ बलमा ३१ रन बनाए। आन्द्रे रसेलले १५ बलमा २७ रन जोडे भने बसिर अहमदले १३ रन बनाए। ओपनर इम्रान शेख पाँच, चरिथ असलंका तीन र शेहान जयसूर्या ११ रनमा आउट भए। सुजन थपलिया अविजित रहे।
बलिङमा कर्णालीका कप्तान सोमपालले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए। उनले चार ओभरमा ३३ रन खर्चिएर लोकेश, आन्द्रे, एन्जेलो र चरिथलाई पभेलियन फर्काए। मार्क वाट र नन्दन यादवले एक-एक विकेट लिए।शुक्रबार एनपीएलअन्तर्गत कुनै पनि खेल तालिका राखिएको छैन।