सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पाँच ओभरको खेलमा सुदूरपश्चिम रोएल्सलाई ३५ रनले पराजित गरेको छ ।
लगातार दुई खेलमा पराजित भएको विराटनगरले तेस्रो खेलमा पहिलो जित निकाल्दै अंकको खाता खोलेको हो । जितसँगै विराटनगरले २ अंक जोडेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा २ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।
विराटनगरको जितमा आन्द्रे रसेलले ब्याटिङमा अविजित २९ रन बनाउनुका साथै बलिङमा एक विकेट र फिल्डिङमा एक क्याच लिए । विराटनगरका लागि शेहान जयसूर्याले ११ बलमा ३९ रनको विस्फोटक इनिङ्स खेले ।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले पहिलो बलमै ओपनर शेरफान रुथरफोर्डलाई गुमाएको थियो । रसेलले उनलाई आउट गर्दै विराटनगरलाई सुरुवाती सफलता दिलाए । दोस्रो ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि सुदूरपश्चिम ७ रनमै २ विकेट गुमाउने अवस्थामा पुगेको थियो ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित २८ रन बनाए । ओपनर सैफ जैबले १० बलमा दुई छक्कासहित १७ रन जोड्दा आरिफ शेखले पनि अविजित १७ रन बनाए । तर, उनीहरूको प्रयास जितका लागि पर्याप्त भएन । बलिङतर्फ विराटनगरका रसेलले दुई ओभरमा आठ रन खर्चेर एक विकेट लिए । एन्जेलो म्याथ्युजले एक ओभरमा १५ रन दिँदै एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो ।
विराटनगरका ओपनर शेहान जयसूर्याले ११ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा ३९ रन बनाए । अर्का ओपनर लोकेश बमले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे । वान डाउनमा आएका रसेलले १० बलमा दुई चौका र तीन छक्काको मद्दतमा अविजित २९ रन बनाए ।
विराटनगरले सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । सुदूरपश्चिमका लागि एनपीएलमा डेब्यु गरेका श्रीलंकाली स्पिनर थरिन्दु रत्नायाकेले पहिलो ओभर बलिङ गरेका थिए । उक्त ओभरमा जयसूर्याले पाँच छक्का प्रहार गरेपछि विराटनगरले पहिलो ओभरमै ३५ रन जोडेको थियो ।
जयसूर्या र लोकेश बमको आक्रामक ब्याटिङमा विराटनगरले आठ बलमै अर्धशतक पूरा गरेको थियो । जयसूर्या तेस्रो ओभरमा अभिनाश बोहराको बलमा एलबीडब्लु आउट भए । सुरुमा अम्पायरले उनलाई आउट दिएका थिएनन् । तर, रिभ्यु लिएपछि निर्णय विराटनगरका जयसूर्याको विपक्षमा गएको थियो ।
अभिनाश बोहराले दुई ओभरमा २८ रन खर्चेर एक विकेट लिए । जयसूर्या आउट भएपछि क्रिजमा आएका रसेलले लोकेश बमसँग मिलेर आक्रामक ब्याटिङलाई निरन्तरता दिए । अन्तिम बलमा लोकेश बम आउट भए पनि विराटनगरले पाँच ओभरमा १०५ रनको विशाल योगफल तयार पारेको थियो ।