भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा सुरु

मंगलबार, कात्तिक १७, २०८३

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार (क्रिटिकल केयर) र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालले मंगलबारदेखि डा. रञ्जित पाण्डेद्वारा उक्त तीन वटा विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको हो । 

सेवा विस्तारसँगै फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या, गम्भीर अवस्थाका बिरामीको सघन उपचार तथा निद्रासम्बन्धी समस्याको पहिचान र उपचारका लागि बिरामीले भेरी अस्पतालबाटै विशेषज्ञ सेवा पाउने भएका छन् ।

नयाँ विशेषज्ञ सेवाको अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देल, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल, प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र नर्सिङ प्रमुख पदमा देवी देवकोटा लगायतको टोलीले संयुक्त रूपमा उद्घाटन गरेको थियो । अस्पतालका अनुसार उक्त सेवा ओपीडी कक्ष नम्बर ७(ए) बाट प्रत्येक हप्ताको मंगलबार र बिहीबार उपलब्ध हुनेछ।

विशेषज्ञ सेवाको विस्तारसँगै फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी रोग, जटिल बिरामीको सघन उपचार र निद्रासम्बन्धी समस्याको परीक्षण तथा उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । 

भेरी अस्पतालले पछिल्लो समय विशेषज्ञ स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिँदै आएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. दर्नालले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  ११:१९
प्रतिक्रिया दिनुहोस्