नेपालगन्जमा पत्रकारहरूका लागि निःशुल्क मिर्गौला जाँच शिविर

शुक्रबार, भदौ २६, २०८३

नेपालगन्ज । सेन्ट्रल सिटी अस्पताल नेपालगन्जमा पत्रकारहरूका लागि निःशुल्क मिर्गौला जाँच शिविर आयोजना हुने भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा नेपाल प्रेस युनियन बाँकेको समन्वयमा शनिबार बिहान पत्रकारहरूका लागि निःशुल्क मिर्गौला जाँच शिविर सञ्चालन हुन लागेको हो ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति तथा नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष स्वर्गीय पन्नालाल गुप्ताको ९८औँ जन्मजयन्तीको अवसर पारेर शिविर आयोजना गर्न लागिएको हो । शिविर नेपालगन्ज उपमहानगरपालिका–१०, सुर्खेतरोडस्थित सेन्ट्रल सिटी अस्पतालमा बिहान साढे ७ बजेदेखि सञ्चालन हुनेछ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारहरूको व्यस्त कार्यशैलीका कारण स्वास्थ्य परीक्षणमा पर्याप्त ध्यान पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको बताए । पत्रकारहरूले नियमित स्वास्थ्य परीक्षणमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे समयमै जानकारी लिन सकून् भन्ने उद्देश्यले शिविर राखिएको उनले बताए ।

स्वर्गीय गुप्ताको जन्मजयन्तीका अवसरमा गत वर्ष नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा भेरी अस्पतालसँगको सहकार्यमा निःशुल्क मुटु जाँच शिविर सञ्चालन गरिएको थियो। त्यसअघि नेपाल प्रेस युनियन बाँकेको आयोजनामा सेन्ट्रल सिटी अस्पतालमै निःशुल्क मिर्गौला जाँच शिविर गरिएको थियो ।

मिर्गौलासम्बन्धी समस्या प्रारम्भिक चरणमा धेरैजसो अवस्थामा स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण महत्वपूर्ण हुने चिकित्सकहरू बताउँछन् । यही कुरालाई ध्यानमा राख्दै पत्रकारहरूलाई लक्षित गरी स्वास्थ्य परीक्षणको अवसर उपलब्ध गराउन शिविर आयोजना गरिएको नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीले बताए ।

शिविरमा पत्रकारहरूले निःशुल्क रूपमा मिर्गौलासम्बन्धी स्वास्थ्य परीक्षण गराउन सक्नेछन् । परीक्षणका क्रममा कुनै सम्भावित समस्या देखिएमा आवश्यक थप उपचार तथा परामर्शका लागि चिकित्सकीय सुझाव समेत उपलब्ध गराइने सेन्ट्रल सिटी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट डा. दीपेश गुप्ताले बताए ।

नेपाल पत्रकार महासंघ बाँके र नेपाल प्रेस युनियन बाँकेले स्वर्गीय पन्नालाल गुप्ताको पत्रकारिता तथा सामाजिक योगदानलाई स्मरण गर्दै उनको जन्मजयन्तीलाई स्वास्थ्य र सामाजिक उत्तरदायित्वसँग जोडेर विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् ।

शिविर पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वय तथा सेन्ट्रल सिटी अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ । महासंघका अध्यक्ष गिरीले बाँकेमा क्रियाशील पत्रकारहरूलाई निर्धारित समयमा अस्पतालमा उपस्थित भई निःशुल्क स्वास्थ्य परीक्षणको अवसर लिन आग्रह गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  २१:३८
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह