सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधारका लागि वार्षिक समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्ने बताएका छन् ।
आर्थिक वर्ष २०८२-०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन समारोहलाई बुधबार नेपालगन्जमा सम्बोधन गर्दै मन्त्री पुनले समीक्षा बाध्यकारी र कर्मकाण्डी हुनु नहुनेमा जोड दिए ।
उनले समीक्षाका मुख्य दुई उद्देश्य उपलब्धिलाई संस्थागत गर्ने तथा कमजोरी पहिचान गरी सुधार गर्ने रहेको बताए । स्वास्थ्य क्षेत्रलाई ‘पूर्वाधारको पनि पूर्वाधार र धनको पनि धन’ का रूपमा चित्रण गर्दै मन्त्री पुनले स्वास्थ्य क्षेत्रमा सुधार अपरिहार्य रहेको बताए । पेस्टिसाइडको बढ्दो प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने बताए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसअघि स्वास्थ्य कार्यालय बाँकेका मलेरिया इन्स्पेक्टर (मलेरिया निरीक्षक) अधिकृत रत्नलाल शर्माले गत आर्थिक वर्षमा कार्यालयबाट सम्पादित कार्यक्रम, उपलब्धि, चुनौती तथा भावी योजनाका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रम संचालन जनस्वास्थ्य अधिकृत मानव नेपालीले गरेका थिए ।
बुधबार र बिहीबार गरी दुई दिन सञ्चालन हुने गोष्ठीमा बाँकेका आठ वटै स्थानीय तहले आ–आफ्नो पालिकामा सम्पादित स्वास्थ्य कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे प्रस्तुतीकरण गर्नेछन् ।