सडक पेटीमा सुत्केरी घटना: अस्पतालका केही कर्मचारी कामबाट हटाइए, छानबिन सुरु

शुक्रबार, भदौ २६, २०८३

काठमाडौँ । सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा प्रसूति व्यथा लागेकी महिला अस्पतालबाहिर सडक पेटीमा सुत्केरी भएको घटनापछि अस्पतालले ६ जना कर्मचारीलाई तत्काल कामबाट हटाएको छ।

अस्पतालले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार डा. उषा देव, सुरक्षा गार्ड देवकान्त झा, स्टाफ नर्सद्वय मनिषा कुमारी साह र सजन चौधरी, कास रेणु ठाकुर तथा स्वीपर कृष्ण मेहतरलाई कामकाजबाट हटाइएको हो। छानबिन समितिको प्रतिवेदन नआएसम्म उनीहरूलाई जिम्मेवारीबाट अलग गरिएको अस्पतालले जनाएको छ।

गत मंगलबार राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवान अस्पताल पुगेकी थिइन्। अस्पतालमा भर्ना हुन नसकेपछि उनले मूल गेटबाहिर सडक पेटीमै बच्चा जन्माएको दृश्य सार्वजनिक भएपछि अस्पतालको सेवाप्रवाहमाथि व्यापक आलोचना भएको थियो।

घटनापछि सरकारले छानबिन प्रक्रिया अघि बढाएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले घटनाबारे प्रश्न उठाएपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकार घटनाप्रति गम्भीर रहेको बताइन्। घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई तत्काल कामबाट हटाएर छानबिन अघि बढाइएको जानकारी उनले संसद्लाई दिइन्।

स्थलगत छानबिनका लागि पाँच सदस्यीय टोली राजविराजमा

घटनाको वास्तविकता बुझ्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा। सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा। अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगेको मन्त्री मेहताले जानकारी दिइन्।

टोलीमा स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा। पवनजङ्ग रायमाझी पनि सहभागी छन्। घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत छुट्टै छानबिन समिति गठन गरेको छ।

अस्पतालको दाबी: ‘प्रारम्भिक जाँचपछि बाहिरिएर गेटमै सुत्केरी’

घटनापछि मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। अस्पतालले बुझाएको प्रारम्भिक विवरणअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथा लागेपछि ३० वर्षीया बबिता पासवान अस्पताल पुगेकी थिइन्।

अस्पतालका अनुसार प्रारम्भिक परीक्षणपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको थियो। आवश्यक केही परीक्षणका लागि पुरानो रिपोर्ट उपलब्ध नभएकाले थप जाँच गर्न स्वास्थ्यकर्मीले सुझाव दिएको अस्पतालको भनाइ छ।

त्यसपछि बिरामी र उनका कुरुवा शय्यामा नरही अस्पतालबाट बाहिरिएको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिर प्रसूति भएको जानकारी प्राप्त भएको मन्त्री मेहताले संसद्मा बताइन्।

सुत्केरी भएपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याइएको तथा ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काटेर आवश्यक उपचार र स्वास्थ्य स्याहारका लागि अस्पतालमै बस्न आग्रह गरेको अस्पतालको दाबी छ। तर, उनीहरू त्यसपछि अस्पतालबाट बाहिरिएको अस्पतालले जनाएको छ।

छानबिनपछि दोषी देखिए कारबाही हुने

मन्त्री मेहताले मातृ तथा नवजात शिशुको जीवन रक्षा र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको प्राथमिक दायित्व भएको बताइन्। छानबिनबाट दोषी देखिएका व्यक्तिमाथि प्रतिवेदनका आधारमा कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारिन्।

यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन मन्त्रालयले अस्पताल प्रशासनलाई सचेत गराएको र अस्पतालले पनि सेवा प्रवाहमा कमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाएको मन्त्री मेहताले संसद्मा जानकारी गराइन्।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १७:२५
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह