सुत्केरीको मृत्यु प्रकरण: सञ्जीवनी अस्पतालले भन्यो- ‘बचाउन हरसम्भव प्रयास गर्‍यौँ’

मंगलबार, मंसिर १, २०८३

नेपालगन्ज । उपचारका क्रममा १९ वर्षीया सुत्केरी पवित्रा केसीको मृत्यु भएपछि चिकित्सकमाथि लापरबाहीको आरोप लागिरहेका बेला नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले उपचारसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ। अस्पतालले बिरामीलाई भर्ना गरेदेखि मृत्यु घोषणा गर्दासम्म गरिएको उपचार, शल्यक्रिया तथा चिकित्सकीय प्रयासबारे विज्ञप्तिमार्फत जानकारी गराएको हो।

अस्पतालको विज्ञप्तिअनुसार बर्दियाको बढैयाताल गाउँपालिका–७ निवासी १९ वर्षीया पवित्रा ३३ हप्ताकी गर्भवती थिइन्। ज्वरो आउने, वान्ता हुने, पिसाब गर्दा पोल्ने तथा चार दिनदेखि तल्लो पेट दुख्ने समस्या देखिएपछि उनलाई कात्तिक २६ गते बिहान करिब ११ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो।

प्रारम्भिक स्वास्थ्य परीक्षण तथा प्रयोगशाला जाँचका क्रममा उनको रगतमा बिलिरुबिनको मात्रा ८.०० र हेमोग्लोबिन ९.९ देखिएको अस्पतालले जनाएको छ। परीक्षणका आधारमा गर्भावस्थासँग सम्बन्धित कोलेस्टेसिस, एक्युट हेपाटाइटिस, सेप्सिस तथा कलेजोसँग सम्बन्धित परीक्षणका सूचक असामान्य देखिएको अवस्थामा उपचार सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ।

कात्तिक २७ गते अपराह्न करिब ४ बजे तल्लो पेट दुख्ने र पानीको थैली फुटेको जस्तो लक्षण देखिएपछि उनलाई प्रसूति कक्षमा सारिएको अस्पतालले जनाएको छ। परीक्षणका क्रममा गर्भमा रहेको शिशुमा समस्या (फिटल डिस्ट्रेस) देखिनुका साथै गर्भको पानीमा दिसा मिसिएको पाइएको अस्पतालको भनाइ छ।

बिरामीको अवस्थाको गम्भीरता र सम्भावित जोखिमबारे परिवारलाई जानकारी गराई सहमति लिएपछि सोही दिन साँझ ५ः४० बजे सिजेरियन शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। शल्यक्रियाका क्रममा जुम्ल्याहा शिशुको जन्म भएको थियो। पहिलो शिशु छोरा साँझ ५ः५० बजे १ हजार ९१० ग्राम तौलसहित र दोस्रो शिशु छोरी ५ः५१ बजे १ हजार ७०० ग्राम तौलसहित जन्मिएका थिए।

शल्यक्रियापछि पवित्रालाई निगरानीका लागि पोस्ट अपरेटिभ कक्षमा राखिएको थियो। सोही दिन साँझ करिब ६ बजे गरिएको परीक्षणमा उनको रक्तचाप ६०/६० एमएमएचजी रहेको र योनिमार्गबाट करिब ४०० मिलिलिटर रक्तस्राव भएको पाइएको अस्पतालले जनाएको छ। त्यसपछि थप उपचार र निगरानीका लागि उनलाई सर्जिकल आईसीयूमा सारिएको थियो।

अस्पतालका अनुसार सघन उपचार कक्षमा आवश्यक तरल पदार्थ, रगत तथा रक्तजन्य पदार्थ चढाउने व्यवस्था गरिएको थियो। कात्तिक २७ गते राति ८ः२५ बजे पहिलो, १०ः३० बजे दोस्रो र भोलिपल्ट बिहान ३ बजे तेस्रो पिन्ट रगत चढाइएको थियो। तर, योनिमार्गबाट भइरहेको रक्तस्राव नरोकिएपछि पाठेघर निकाल्नुपर्ने अवस्था सिर्जना भएको अस्पतालको भनाइ छ।

बिरामीको अवस्थाको गम्भीरता, शल्यक्रियाको आवश्यकता र सम्भावित जोखिमबारे परिवारलाई विस्तृत परामर्श दिएर सहमति लिएपछि कात्तिक २८ गते बिहान करिब ६ देखि ७ बजेको बीचमा पाठेघर निकाल्ने शल्यक्रिया (हिस्टेरेक्टोमी) गरिएको विज्ञप्तिमा उल्लेख छ।

उक्त शल्यक्रियापछि पनि बिरामीको रक्तचापमा अपेक्षित सुधार आउन नसकेको अस्पतालले जनाएको छ। रक्तचाप बढाउन विभिन्न औषधि प्रयोग गर्नुका साथै मुटुरोग विशेषज्ञको परामर्शमा इकोकार्डियोग्राफी परीक्षणसमेत गरिएको थियो। परीक्षणका क्रममा मुटुको धड्कन अत्यधिक तीव्र रहेको अस्पतालले उल्लेख गरेको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले निरन्तर उपचार प्रयास गर्दा पनि राति ११ः५० बजेसम्म रक्तचापमा सुधार हुन सकेन। त्यसपछि मुटुको धड्कन क्रमशः घट्दै गएको अस्पतालको विज्ञप्तिमा जनाइएको छ। करिब ३० मिनेटसम्म सीपीआरलगायतका जीवनरक्षाका प्रयास गर्दा पनि मुटुको धड्कन पुनः सञ्चालनमा आउन नसकेपछि कात्तिक २९ गते राति १२ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

यता, मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण पवित्राको मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा प्रदर्शन गर्दै आएका छन्। अस्पतालले भने बिरामीलाई भर्ना गर्दाकै अवस्थामा गम्भीर स्वास्थ्य समस्या रहेको र उनको जीवन बचाउन आवश्यक सबै उपचार तथा चिकित्सकीय प्रयास गरिएको दाबी गरेको छ। घटनाप्रति दुःख व्यक्त गर्दै अस्पतालले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ।

मृतकका आफन्तले अझै शव बुझ्न मानेका छैनन्। विवाद समाधानका लागि आज पनि अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता गर्ने तयारी गरिएको छ। यसअघि लगातार दुई दिनसम्म वार्ता भए पनि कुनै सहमति जुट्न सकेको छैन।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  ०९:५१
प्रतिक्रिया दिनुहोस्