व्यवसाय खरानी भएपछि सहयोगी हात बढाउँदै डा. युवराज कार्की, गरे आर्थिक सहयोग

शुक्रबार, कात्तिक २७, २०८३

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरमा भीषण आगलागीबाट ठूलो आर्थिक क्षति व्यहोरेका व्यवसायीलाई नेपालगन्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर  युवराज कार्कीले आर्थिक सहयोग गरेका छन् ।

नेपालगन्ज मेडिकल कलेज तथा संजीवनी मेडिकल कलेजमा कार्यरत डा. कार्कीले आगलागीपीडित व्यवसायीलाई आज १० हजार ५ रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

लक्ष्मी बिजुली भण्डार एण्ड जनरल अर्डर सप्लायर्स तथा जय हनुमान ट्रेडर्स एण्ड सप्लायर्समा गत आइतबार साँझ भएको आगलागीबाट ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो । अमर ओलीले सञ्चालन गर्दै आएका दुवै फर्ममा विद्युत्को तार सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी छ ।

बिजुलीका सामानको ठूलो गोदामसमेत रहेका दुवै फर्ममा आगलागी हुँदा पसल, गोदाम र कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएका थिए । व्यवसायमा प्रयोग हुने सामानदेखि महत्त्वपूर्ण कागजातसम्म जलेपछि सञ्चालक ओली ठूलो आर्थिक संकटमा परेका छन् ।

व्यवसाय पुनः सञ्चालन गर्न कठिन अवस्था सिर्जना भएपछि पीडित व्यवसायीले सहयोगका लागि अपिल गरेका थिए । सोही क्रममा डा. कार्कीले मानवीय भावना प्रदर्शन गर्दै आर्थिक सहयोग गरेका हुन् ।

संकटको समयमा प्राप्त सहयोगले व्यवसाय पुनः सञ्चालन गर्ने अभियानमा हौसला र ऊर्जा मिलेको व्यवसायीले बताएका छन। डा. कार्कीले आगामी दिनमा पनि थप सहयोग आवश्यक परे आफू सहयोगका लागि तयार रहेको बताउँदै सबैलाई सानो-सानो भएपनि सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्