सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँके प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी परिचालनमा कुनै कसर बाँकी नराखिने बताएका छन्।
दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्लाभर १ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।
चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै बजार, भित्री गल्ली, सार्वजनिक स्थल तथा सीमा क्षेत्रमा चौबीसै घण्टा निगरानीको व्यवस्था मिलाइएको एसपी जिसीले बताए।
‘खुला सीमा र भौगोलिक अवस्थाका कारण बाँके सुरक्षा दृष्टिले संवेदनशील जिल्ला हो। त्यसैले चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेका छौं,’ एसपी जिसीले भने, ‘नागरिकले ढुक्क भएर चाडपर्व मनाउन सक्ने वातावरण बनाउन प्रहरी परिचालनलाई थप प्रभावकारी बनाएका छौं।’
भारतबाट घर फर्किने नेपाली यात्रुको सहजताका लागि जमुनाहा नाकामा विशेष सहायता कक्षसमेत सञ्चालन गरिएको उनले बताए। यात्रुलाई ठगी गर्ने, दुःख दिने वा आपराधिक गतिविधिमा संलग्न हुनेमाथि तत्काल कारबाही गरिने उनको भनाइ छ।
चाडपर्वको समयमा शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न एसपी जिसीले सर्वसाधारणसँग आग्रह गरेका छन्। नागरिकको सहयोग र प्रहरीको सक्रियताबाट चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन सकिने उनको भनाइ छ।