सहमतिबिनै नामावली तयार गरिएको भन्दै कांग्रेस बाँके–१ का सभापति केसीको आपत्ति

आइतबार, असोज १८, २०८३

नेपालगन्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीले आफ्नो जानकारी, सहभागिता तथा स्वीकृतिबिनै विभिन्न पदका व्यक्तिहरू समेटिएको नामावली तयार गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहँदै आफूले सधैँ पार्टीको एकता, सहमति, सहकार्य र लोकतान्त्रिक संस्कारलाई प्राथमिकतामा राख्दै आएको केसीले बताएका छन्। वर्तमान परिस्थितिमा व्यक्तिगत पद र प्रतिष्ठाभन्दा पार्टीको हित, संगठनको एकता र साथीहरूको भावनालाई प्राथमिकता दिनुपर्ने मान्यताका साथ आफूले अधिकतम लचकता र त्यागको भावना प्रस्तुत गर्दै सहमतिको बाटो रोजेको उनको भनाइ छ।

निर्वाचन प्रक्रियालाई सहमति, सहकार्य र आपसी समझदारीका आधारमा अघि बढाउने विषयमा भएको छलफलअनुसार आफूले आवश्यक लचकता र त्याग प्रस्तुत गर्दै आएको भए पनि पछिल्लो समय आफ्नो जानकारी र सहभागिताबिनै नामावली तयार गरी त्यसलाई सहमति भएको नामावलीका रूपमा सार्वजनिक गरिएको केसीले बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त नामावली आफ्नो सहमतिमा तयार नभएको स्पष्ट पार्दै उनले त्यसबारे आफूसँग आवश्यक छलफल, परामर्श वा अन्तिम सहमति नभएको बताएका छन्। त्यसैले उक्त नामावलीलाई आफ्नो सहमति वा स्वीकृतिमा तयार भएको भनेर प्रचार गर्नु सत्य नभएको उनको भनाइ छ।

केसीले एक पक्षले नामावली तयार गर्ने र अर्को पक्षले त्यसलाई सहमति भएको मान्नुपर्ने अवस्थालाई सहमति भन्न नसकिने बताएका छन्। उनका अनुसार समान सहभागिता, खुला छलफल, पारदर्शिता र आपसी स्वीकृतिबाट मात्रै राजनीतिक सहमति निर्माण हुन्छ।

आफूले पदका लागि नभई पार्टीको एकता र राजनीतिक संस्कारका लागि त्याग र लचकता देखाएको केसीले बताएका छन्। व्यक्तिगत लाभ वा पदको आग्रहभन्दा माथि उठेर सबै पक्षले एकअर्काको सम्मान गर्दै वास्तविक सहमतिको वातावरण निर्माण गर्नुपर्ने उनको धारणा छ।

उनले सम्बन्धित नेतृत्व तथा निर्वाचन समितिलाई आफ्नो सहमति नभएको नामावलीलाई सहमतिका नाममा तत्काल अघि नबढाउन आग्रह गरेका छन्। साथै, त्यसलाई आधिकारिक निर्णय वा सहमतिको दस्तावेजका रूपमा नलिई आवश्यक छलफल, परामर्श र दुवै पक्षको वास्तविक सहमतिपछि मात्रै निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउनुपर्ने उनको माग छ।

विवाद बढाउने पक्षमा आफू नरहेको भन्दै केसीले संवादमार्फत समाधान खोज्न आफू अझै तयार रहेको बताएका छन्। तर सहमतिको नाममा असहमतिको दस्तावेज स्वीकार गर्न नसकिने उनले स्पष्ट पारेका छन्।

पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, पारदर्शिता र आपसी विश्वासलाई कमजोर बनाउने कुनै पनि प्रक्रियामा मौन समर्थन जनाउनु उचित नहुने उनको भनाइ छ।

केसीले आफ्नो प्राथमिकता व्यक्तिगत विजय नभई कांग्रेस बाँके क्षेत्र नम्बर १ को एकता, संगठनको सुदृढीकरण र पार्टीको गरिमा भएको बताएका छन्। पद प्राप्त गर्नु ठूलो कुरा नभई राजनीतिक संस्कार, विश्वास र सहकार्यको वातावरण जोगाउनु महत्वपूर्ण रहेको उनको भनाइ छ।

आवश्यक पर्दा पदभन्दा पार्टी र व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई प्राथमिकता दिन आफू सधैँ तयार रहेको उल्लेख गर्दै केसीले विगतमा प्राप्त साथ, सहयोग र विश्वासप्रति सबैलाई आभार व्यक्त गरेका छन्। आगामी दिनमा पनि पदमा रहेर वा नरहेर नेपाली कांग्रेसको संगठन, लोकतान्त्रिक मूल्य–मान्यता र जनताको सेवामा निरन्तर समर्पित रहने उनले प्रतिबद्धता जनाएका छन्।

साथै, आफ्नो सदासयता, त्याग र समर्पणलाई कमजोरी नठान्न उनले आग्रह गरेका छन्। व्यक्तिगत जित–हार क्षणिक विषय भए पनि पार्टीको एकता र प्रतिष्ठा दीर्घकालीन सम्पत्ति भएको उल्लेख गर्दै केसीले ‘त्याग कमजोरी होइन, राजनीतिक संस्कार हो’ भनेका छन्।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १३:३१
प्रतिक्रिया दिनुहोस्