मोटरसाइकलमा लुकाएर लैजाँदै थिए ८१ ग्राम ब्राउन सुगर, नेपालगन्जबाट परे प्रहरीको फन्दामा

आइतबार, असोज १८, २०८३

बाँके । नेपालगन्जमा ८१ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१०, विद्युत् रोडमा मोटरसाइकल रोकेर खानतलासी गरेको थियो।
 
खानतलासीका क्रममा नेपालगन्ज उपमहानगरपालिका–१६ बस्ने ३१ वर्षीय हसन फिरोज जसगढले चलाएको भे ११ प ६८३५ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर फेला परेको बाँके प्रहरीले जनाएको छ।

बरामद ब्राउन सुगरको शुद्ध तौल ८१ ग्राम २० मिलिग्राम रहेको छ। प्रहरीले जसगढलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको थियो। असोज १६ गते पक्राउ परेका उनीविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट विभिन्न कम्पनीका तीन थान मोबाइल र लागूऔषध ओसारपसारमा प्रयोग भएको भे ११ प ६८३५ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

बाँकेमा पछिल्लो समय लागूऔषधविरुद्ध प्रहरी कारबाही थप आक्रामक बन्दै गएको छ। प्रहरीले नियमित निगरानी र सूचनाका आधारमा लागूऔषधका कारोबारीलाई ठूलो परिमाणको लागूऔषधसहित नियन्त्रणमा लिँदै आएको छ।नेपालगन्जलाई केन्द्र बनाएर हुने लागूऔषध कारोबार नियन्त्रण गर्न प्रहरीले चलाएको अभियानअन्तर्गत पछिल्लो पक्राउलाई पनि महत्वपूर्ण कारबाहीका रूपमा हेरिएको छ।
 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १७:३६
प्रतिक्रिया दिनुहोस्