सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । लागुऔषध कारोबारको सूचना पाएर खटिएको प्रहरी टोलीले मोरङको रतुवामाईमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले आठ राउन्ड गोली प्रहार गरेको छ। गोली लागेर भारतका दुई नागरिक घाइते भएका छन्।
प्रहरीले घटनास्थलबाट आधा किलो खैरो हेरोइन, एउटा पेस्तोल, त्यसमा प्रयोग हुने गोली र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको अररिया जिल्लाका २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरन बोसाक तथा मोरङको रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय प्रमोद ठाकुर छन्। घाइते बोसाकद्वयको घुँडामुनि गोली लागेको छ। उनीहरूलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लागुऔषध नियन्त्रण ब्युरोले प्राप्त गरेको विशेष सूचनाका आधारमा उनीहरूको गतिविधि निगरानी गरिरहेको थियो। सोही क्रममा गए राति करिब साढे ९ बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा दुईवटा मोटरसाइकलमा रहेका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। प्रहरी टोली देखेपछि उनीहरू भाग्न खोजेपछि अवस्था नियन्त्रणमा लिन गोली चलाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। उनका अनुसार प्रहरीले प्रयोग गरेको चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गोली चलाइएको थियो।
पक्राउ परेकाहरूको साथबाट ५०० ग्राम खैरो हेरोइन, एक थान घरेलु पेस्तोल र एक राउन्ड गोली फेला परेको छ। बरामद मोटरसाइकलमध्ये एउटा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ को रहेको छ।