प्रहरीले दुई राउन्ड हवाई फायर गरेपछि २१० किलो गाँजा र दुई स्कार्पियो नियन्त्रणमा, ५ जना पक्राउ

सोमबार, कात्तिक १६, २०८३

काठमाडौं । प्रहरीले दुई राउन्ड हवाई फायर गरी करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।

आज बिहान सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडामा  करिब ३ बजे दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको अवस्थामा पाँच जनालाई फेला पारिएको हो।

प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्दा नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि उनीहरूलाई दुई वटा स्कार्पियोसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव ९बा।१ च ५०३८ का चालक०, सप्तरीकै राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारतको बिहार राज्यअन्तर्गत मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।

त्यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह (को-१ च ८१८२ का चालक) र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार दुवै स्कार्पियो गाडीमा आठ वटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  ०८:१२
प्रतिक्रिया दिनुहोस्