सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँकेको कोहलपुरस्थित एक मेडिकलमा युवतीको स्वास्थ्य जाँचका क्रममा भएको भनिएको घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न सामग्री सार्वजनिक भएकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासंघले घटनासँग सम्बन्धित सामग्री सार्वजनिक गर्ने क्रममा पत्रकारिता आचारसंहिता पालना गर्न, घटनामा जोडिएका व्यक्तिको गोपनीयता, मर्यादा र संवेदनशीलताको सम्मान गर्न आग्रह गरेको छ। विशेषगरी युवती तथा संवेदनशील प्रकृतिका घटनामा पहिचान खुल्ने विवरण, तस्बिर वा भिडियो सार्वजनिक गर्दा थप क्षति पुग्न सक्ने भएकाले सञ्चारमाध्यमलाई सचेत रहन आग्रह गरिएको छ।
महासंघले मिडियाका नाममा तथ्य पुष्टि नगरी भिडियो सामग्री प्रसारण गर्ने, संवेदनशील विषयलाई सनसनीपूर्ण बनाउने तथा भ्युज, फलोअर्स वा आर्थिक लाभका लागि सामग्री उत्पादन गर्ने प्रवृत्तिले पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि प्रश्न उठाउने जनाएको छ।
त्यस्तै, सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा पोस्ट वा प्रसारित भएका सामग्रीका आधारमा समग्र पत्रकारिता र पत्रकारलाई आरोपित गर्नु उचित नभएको महासंघको भनाइ छ। कुनै व्यक्ति वा संस्थाबाट आचारसंहिताविपरीत कार्य भएको भए सम्बन्धित पक्षले त्यसको जिम्मेवारी लिनुपर्ने महासंघले स्पष्ट पारेको छ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकारिता र सञ्चार माध्यमको नाम प्रयोग गरी आचारसंहिता तथा पत्रकारिताका आधारभूत मूल्यमान्यताविपरीत गतिविधि भए आवश्यक अध्ययन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने जनाएको छ। साथै, महासंघका सदस्य वा पत्रकारिताको आवरणमा भएका गलत गतिविधिलाई संरक्षण नगर्ने प्रतिबद्धता पनि जनाएको छ।
महासंघले सञ्चारमाध्यमलाई भ्युज र आर्थिक लाभभन्दा सत्य, तथ्य, सामाजिक उत्तरदायित्व र पत्रकारिताको मूल धर्मलाई प्राथमिकता दिन चेतावनी दिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई समेत अपुष्ट र संवेदनशील सामग्रीको प्रचार–प्रसार नगर्न अपिल गरिएको छ।