सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ। आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार दोस्रो दिन बन्दसत्र, विधान संशोधनमाथि छलफल र विभिन्न पदका लागि उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिएको छ। महाधिवेशन व्यवस्थापनका तर्फबाट नेता रमेश धमलाले सार्वजनिक गरेको कार्यतालिका अनुसार सोमबार बिहान ९:१५ बजेदेखि भृकुटीमण्डपका तीनवटा हलमा बन्दसत्र सुरु हुनेछ।
बन्दसत्रमा पार्टी सभापतिको प्रतिवेदन पेस गरिनुका साथै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइनेछ। विधानमाथिको छलफल र खानपानको समय मिलाएर विभिन्न पदका आकाङ्क्षीहरूका लागि दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दरखास्त दर्ताको समय तोकिएको छ।
कार्यक्रमलाई व्यवस्थित र अनुशासित बनाउन भृकुटीमण्डप कम्पाउन्डभित्र पर्चा, पम्प्लेट, पोस्टर, झण्डा तथा ब्यानरजस्ता कुनै पनि प्रचारप्रसारजन्य सामग्री लैजान पूर्ण रूपमा रोक लगाइएको छ।
महाधिवेशन अवधिभर प्रतिनिधिहरूका लागि खानपानको व्यवस्थापन आयोजकले गरे पनि बासस्थानको प्रबन्ध प्रतिनिधिहरू स्वयंले गर्नुपर्ने र आवश्यक सूचना डिजिटल माध्यम (एसएमएस तथा मेसेन्जर) बाट पठाइएको व्यवस्थापन पक्षले जनाएको छ।