अनुभव र युवाको मिश्रणबाट नै बलियो काँग्रेस बन्छः दीपक गिरी

आइतबार, असोज १८, २०८३

काठमाडौं । राजनीतिक रूपमा देश स्थिर बन्न सकेको छैन। अझ कांग्रेसमा आफ्नै किसिमका समस्या छन्। यस्तोमा उपसभापतिको उम्मेदवारी घोषणा गर्दै गर्दा तपाईंले नेपाली कांग्रेसभित्र कस्तो परिवर्तन आवश्यक रहेको देख्नुभएको छ र?

देशमा दुई किसिमको अन्योलता छ। पहिलो राजनीतिक अन्योलता र दोस्रो आर्थिक शिथिलता। त्यसलाई परिवर्तन गर्न बलियो कांग्रेसबिना सम्भव छैन। नेपाली कांग्रेस मात्रै एउटा त्यस्तो पार्टी हो, जोसँग अनुभव र युवा दुवैको जोस छ। मिश्रित शक्तिको बीचमा आफ्नो अनुभवलाई जोडेर पार्टीको नेतृत्वदायी भूमिका खेल्न सक्छु भन्ने सोचेर मैले उपसभापतिको उम्मेदवारी घोषणा गरेको हुँ।

नेपाली कांग्रेसको नेतृत्व तहले विगतमा पनि निर्णायक भूमिका खेलेकै हो। अहिले पनि नेपाली नागरिकले लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा ठूलो परिवर्तन चाहेका छन् भन्ने कुरा पछिल्ला घटनाक्रमले देखाएका छन्। त्यसैले मतदाताको चाहनालाई सम्मान गर्दै युवाहरूलाई पार्टीमा प्रवेश गराएर एउटा ठूलो परिवर्तन गर्ने मेरो चाहना हो। मुलुकको राष्ट्रियता, सार्वभौमिकता, स्वतन्त्रता जस्ता आधारभूत कुरा जोगाउँदै युवाहरूको समस्या सम्बोधन गर्ने र विकासशील हुँदै उन्नत नेपाल बनाउने हाम्रो लक्ष्य हो। त्यसमा केही भूमिका निर्वाह गर्न चाहन्छु।

तपाईंको राजनीतिक यात्रा कसरी सुरु भयो ?

म आफैँ राजनीतिक परिवारमा जन्मिएको र महामानव बीपी कोइरालाको विचार तथा आह्वानबाट प्रभावित भएकाले नेपाली लोकतान्त्रिक आन्दोलनमा जोडिएको हुँ।

स्कुल पढ्दाकै समयमा, करिब १२–१३ वर्षको उमेरमा, पञ्चायती अधिनायकवादी व्यवस्थाविरुद्ध पर्चा बाँड्दै राजनीतिक गतिविधिमा संलग्न भएँ। त्यो २०२९ सालको कुरा हो।

विद्यार्थी राजनीतिमा पनि म सक्रिय थिएँ। २०३४ सालमा दाङको क्षेत्र नम्बर ४ को सभापति भएर काम गरेको थिएँ। त्यतिबेला मेरो उमेर करिब १६–१७ वर्ष मात्र थियो।

त्यसपछि पञ्चायती व्यवस्थाले मलाई निरन्तर दुःख दिने गर्‍यो। २०३६ सालमा नेपाली कांग्रेसको चौथो राष्ट्रिय महाधिवेशनको सन्दर्भमा म उम्मेदवार बन्ने तयारीमा थिएँ। दाङका युवाहरूमा राजनीतिक जागरण बढ्दै गएको र त्यसमा मेरो भूमिका देखिएपछि पञ्चायती व्यवस्थाले ममाथि ‘बैंक लुट्ने असफल प्रयास’ गरेको भन्ने झुटा मुद्दा लगाएर करिब ७२ दिन हिरासतमा राख्यो। त्यो घटना अहिले पनि मलाई ताजै लाग्छ।

तर, त्यस घटनाले दाङका युवाहरूमा राजनीतिक जागरण झन् बढायो। त्यसपछि बाहिर निस्केपछि झनै पञ्चायतका विरुद्ध आन्दोलनमा सरिक भएँ। पञ्चायतकालमा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित अवस्थामा थियो। त्यसैले कांग्रेसका गतिविधिहरू विद्यार्थी संगठन र कलेजका प्लेटफर्ममार्फत हुने गर्थे।

कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, बीपी कोइराला लगायतका नेताहरूको राजनीतिक गतिविधिबाट म प्रभावित भएँ। २०३९ सालमा बीपी कोइरालाको निधन भइसकेपछि पनि लोकतान्त्रिक आन्दोलन निरन्तर अघि बढिरहेको थियो र त्यसपछिका सबै आन्दोलन तथा सत्याग्रहमा म सहभागी भएँ।

नेपाली कांग्रेसको महाधिवेशनको राजनीतिक यात्रामा पनि म लामो समयदेखि जोडिएको छु। करिब २०४२–४३ सालदेखि नै महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुँदै आएको छु। त्यसयता भएका महाधिवेशनहरूमा निरन्तर सहभागी हुँदै आएको छु।

म तीन पटक चुनाव जितिसकेको व्यक्ति हुँ। त्यसैले अब व्यक्तिगत राजनीतिक महत्त्वाकांक्षाभन्दा पनि पार्टी र मुलुकको आवश्यकता के हो भन्ने कुरा महत्त्वपूर्ण हो भन्ने मेरो धारणा छ। म धेरै महत्त्वाकांक्षी व्यक्ति होइन। मेरो प्राथमिकता लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै पार्टीभित्र आवश्यक परिवर्तन र नयाँ पुस्ताको प्रवेश सुनिश्चित गर्नु हो।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १४:३१
प्रतिक्रिया दिनुहोस्