१५औं महाधिवेशन: कांग्रेस उपसभापतिमा दीपक गिरीको उम्मेदवारी घोषणा

आइतबार, असोज १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य दीपक गिरीले पार्टीको उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर ३ बाट ९०७ मत प्राप्त गर्दै लोकप्रिय मततर्फ पहिलो स्थानमा रहेर केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि गिरीले उपसभापतिमा उम्मेदवारी अघि सारेका हुन्।

उम्मेदवारी घोषणा गर्दै गिरीले पार्टीको नेतृत्वमा अनुभव र नयाँ पुस्ताको ऊर्जालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्। अनुभवी नेताको मार्गदर्शन तथा युवाको सक्रिय सहभागिताबाट कांग्रेसलाई थप गतिशील र सुदृढ बनाउन आफूले भूमिका खेल्न चाहेको उनले बताएका छन्।

पार्टीका विभिन्न आन्दोलन, संगठन विस्तार तथा चुनौतीपूर्ण परिस्थितिमा आफू निरन्तर सहभागी हुँदै आएको उल्लेख गर्दै गिरीले लामो राजनीतिक अनुभवलाई अब संगठन निर्माण र पार्टीको आगामी यात्रामा उपयोग गर्ने बताएका छन्।

कांग्रेसलाई थप एकताबद्ध, बलियो र जनमुखी संगठनका रूपमा अघि बढाउने लक्ष्यसहित उपसभापति पदमा उम्मेदवारी दिएको उनको भनाइ छ।
 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०७:४६
प्रतिक्रिया दिनुहोस्