सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज। नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
पौराणिक एवं धर्मशास्त्रहरूका अनुसार देवी चन्द्रघण्टाले शिरमा अर्धचन्द्रका साथै हातमा चन्द्रमाको आधार भएको घण्ट धारणा गर्ने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको हो। पहेँलो वर्ण, शान्त र करुणामयी स्वरूप भएकी चन्द्रघण्टा देवीको पूजा आराधना गर्दा अत्याचारी दानवी शक्तिको नाश भई साधकमा अनेकौँ शक्ति, कृपा र ललाटमा चमक प्राप्त हुने विश्वास गरिन्छ। विशेष गरी सङ्गीत तथा कला क्षेत्रमा संलग्न व्यक्तिहरूले चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने गर्दछन्। आजका दिन साधना गर्दा मणिपुर चक्रमा ध्यान केन्द्रित गरिन्छ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएसँगै सुरु भएको नवरात्रका नौ दिनसम्म क्रमशः नवदुर्गाका नौवटा स्वरूपको पूजा गरिन्छ। पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएकोमा तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ आराधना भइरहेको छ।
दसैँको अवसरमा देशभरका मुख्य शक्तिपीठ, देवी मन्दिर तथा दसैँघरहरूमा दुर्गा सप्तशती ९चण्डी० र श्रीमद्देवीभागवत पाठ गर्दै भक्तजनको घुइँचो लागेको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको यो दुर्गा पक्ष विजयादशमी हुँदै कोजाग्रत पूर्णिमासम्म कुल १५ दिन हर्षोल्लासका साथ मनाइन्छ।