दसैँ नजिकिएसँगै जमुनाहा नाकामा बढ्यो चाप, दैनिक १० हजारभन्दा बढी नेपाली फर्किँदै

मंगलबार, असोज २०, २०८३

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेको भीड लागेको छ । दसैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए । पछिल्लो पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली दसैँ मनाउन जमुनाहा नाका हुँदै घर फर्किएको उनले बताए ।

“अहिले बिहानदेखि साँझसम्मै दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीको लर्को लागिरहेको छ, प्रत्येक दिन १० हजारभन्दा बढी नागरिक जमुनाहा नाकाबाट आउने गरेका छन्”, उनले भने, “सीमावर्ती क्षेत्रमा उनीहरूमाथि हुनसक्ने लुटपाटलगायतका आपराधिक घटना हुन नदिन नेपाल प्रहरीले आवश्यक समन्वय गर्दै आएको छ ।”

भारतको नयाँ दिल्ली, मुम्बई र हिमाञ्चल प्रदेशका विभिन्न सहरमा काम गरेर नेपाली दसैँ पर्व मनाउन यतिबेला घर फर्किरहेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिक सीमावर्ती क्षेत्रमा लुटिने, ठगिने र अलपत्र पर्नेजस्ता घटना हुन नदिई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको बताए ।

“नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना लागू गरेका छौँ”, उनले भने, “भारतबाट फर्किने नेपालीले बाटोमा ठगी, लुटपाटलगायतका समस्या भोग्न नपरोस् भनेर जमुनाहा नाकामै यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।”

भारतमा रोजगारीका लागि गएका नेपाली चाडपर्वका बेला ठूलो सङ्ख्यामा स्वदेश फर्किने यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्षबाट आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइने उनले जानकारी दिए ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको बताउँदै भारतबाट फर्किने नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने गरी सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गरे ।

भारतबाट फर्किने नेपालीको चापलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुर बसपार्कमा पनि मङ्गलबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।रासस।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १४:३९
प्रतिक्रिया दिनुहोस्