बझाङ अटो दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु, बालक घाइते

सोमबार, कात्तिक ३०, २०८३

बझाङ । बझाङको बुंगल नगरपालिकामा अटो रिक्सा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने एक बालक घाइते भएका छन्। सोमबार बिहान बुंगल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडकमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटोको ब्रेक फेल भएपछि अनियन्त्रित भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको थियो।

दुर्घटनामा बुंगल नगरपालिका–१० निवासी ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा, ६ वर्षीया डल्ली महरा र ५ वर्षीय रियास महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

अटोमा चालकसहित ६ जना सवार रहेका थिए। दुर्घटनामा परेका १३ वर्षीय विक्रम महरा भने सकुशल घर फर्किएका छन्।

दुर्घटनापछि अटो चालक बुंगल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  १४:२६
प्रतिक्रिया दिनुहोस्